नगर प्रमुख पौडेलद्वारा फतेपुरमा डोजरको एक्शन

रञ्जन यादव
310 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले अबैध संरचनामाथि डोजर चलाएको छ ।

उपमहानगरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ स्थित फत्तेपुर बजारमा डोजर चलाएको हो । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नुपर्ने भएकाले उपमहानगरपालिकाले डोजरले अबैध संरचना भत्काएर नष्ट गरेको हो । अवैध रुपले कब्जा गरी बनाईएको संरचनाहरु उपमहानगरपालिकाले हटाएको हो ।

यसअघि सात दिने सूचना निकालेर वडाभित्रका अनधिकृत र अवैध संरचनाहरू हटाउने अनुरोध उपमहानगरपालिकाले गरेको थियो ।

संरचना हटाउन अटेर गरेकाले बलपूर्वक डोजर लगाएर भत्काउन थालिएको १२ नम्बर वडाका वडा अध्यक्ष श्यामबाबु खाँले जानकारी दिए ।

साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कठ्ठा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ ।

सो १८ कठ्ठा सार्वजनिक जग्गा मध्ये ६ कठ्ठा बजारमा प्रयोग भएको छ । बाँकी रहेको १२ कठ्ठा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेका थिए ।

सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो । सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भएको थियो ।

उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ ।उपमहानगरले पटक पटक सूचना निकालेर सार्वजनिक जग्गामा बनाएको टहरा हटाउन भने पनि स्थानीयहरुले अटेर गर्दै आएका थिए ।

यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरको गौशालामा बनाईएको अबैध संरचना हटाएको थियो । उपमहानगरपालिकाभित्र धेरै सार्वजनिक जग्गा जमिन मिचिएको पटक–पटक आवाज उठ्ने गरेको छ।

धारा,कुवा र सार्वजनिक चौतारो र धर्मशालाहरू तथा सार्बजनिक जग्गाहरु मिचेर मानिसहरूले घरघडेरी बिक्री वितरण र बनाउने गरेको आवाज उठ्ने गरेको छ ।

नगर प्रमुख राजन पौडेल आफैँ मैदानमा खटिएर डोजर चलाउन लगाएपछि धेरैले प्रशंसा समेत गरेका छन्। उपमहानगरपालिकाले सरकारी जग्गाहरूको संरक्षण गर्नुपर्ने सुझाव बुद्धिजीवीहरूको छ ।

स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरी समृद्ध नगरपालिका बनाउने काममा अग्रसर हुनुपर्ने भनाई बुद्धिजिविहरुको छ।

Leave a review