कलैया : पञ्चवर्षीय गढीमाई मेलामा भारतसंग जोडिएको सीमा नाकामा खुल्लारुपमा सवारी साधन आउन दिन तथा निशुल्क भक्तजनलाई भोजन गराउन सुझाव आएको छ।
बाराको पञ्चवर्षीय गढीमाई मेला २०८१ लाई भब्य र सभ्य रुपले व्यवस्थापन तथा सञ्चालन गर्ने उद्देश्यले मंगलबार आयोजित एक कार्यक्रममा यस्तो सुझाव आएको हो।
महागढीमाई नगरपालिका द्वारा आयोजित सल्लाह र सुझाव संकलन कार्यक्रममा यस्तो सुझाव आएको हो। महागढीमाई नगरपालिकाको सभाहलमा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् मधेस प्रदेश सरकारका मुख्यमन्त्री सिंहले मधेस सरकारको तर्फबाट मेला व्यवस्थापनको लागि ५० लाख सहयोग गर्ने बताएका छन्।
सो ५० लाख रकम मेला व्यवस्थापनको लागि मात्र छुट्याएको उनले जनाए। थप बोरिङ,टावर लाइट जडान गर्न,स्वास्थ्य सेवा दिन,नाका खुलाउनमा सहयोग गर्ने उनले जनाए।
सुरक्षा व्यवस्थापन गर्ने,मेलामा पालिकाहरुले आ–आफ्नो तर्फबाट म्यादी प्रहरी राख्न समेत उनले आग्रह गरे। अन्य कार्यको लागी सहयोग गर्ने उनले बताए ।
यो मेला मधेशको लागि गौरवको विषय रहेको जनाए। सो कार्यक्रममा मेलाको तयारी र व्यवस्थापन सम्बन्धी जानकारी महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले जानकारी गराएका थिए।
महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला विकास समिति बाराका पूर्व सभापति छठुप्रसाद यादवले मेलामा पसलहरु खुल्ने ब्यापारीहरुलाई दृष्टिगत गर्दै २०० मा खरिद गरिएको जग्गा २ हजार रुपैयाँ सम्ममा बेच्ने प्रथालाई अन्त्य गर्न सुझाव दिए।
उनले थप सुरक्षा व्यवस्थापन गर्न ध्यानाकर्षण गराए। खानेपानीको व्यवस्थापन गर्न उनले भने। निशुल्क भोजनको व्यवस्थापन गर्न उनले सुझाव दिए।
सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरुले मेलाको बेलामा आउने खशी,राँगाहरुलाई नरोक्न समेत सुझाव दिएका छन्।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले ४ देखि ५ सय सम्म मेलामा सि.सि टिभी क्यामरा जडान गर्ने जनाए। सुरक्षा व्यवस्थापन गर्ने,ट्राफिक प्रहरी व्यवस्थापन गरिने उनले जनाए। नाकामा आउने र जाने बाटोको व्यवस्थापन गर्ने उनले जनाए।
मेलामा ड्रोन क्यामरा बिना प्रशासनको अनुमति बिना चलाउन नपाउने,दोबर जनशक्तिको प्रयोग गर्ने उनले बताए ।
उक्त कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थ मन्त्री सुनिल कुमार यादव,पर्यटन मन्त्री सकिल मियाँ,बाराको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ,बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद समिर,जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह,बारामा रहेको १६ वटा स्थानीय तहका नगर प्रमुख,उप प्रमुख,अध्यक्ष,उपाध्यक्षको विशेष उपस्थिति रहेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का,सशस्त्र प्रहरी बाराका प्रमुख सन्तोष सिंह,ज्वाला दल गण बाराका प्रमुख सेनानी कुमार श्रेष्ठ,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,गढीमाई मन्दिरका पुजारी,वार्ड अध्यक्ष,वार्ड सदस्य,जनप्रतिनिधि,समाजसेवी,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा स्वागत महागढीमाई नगरपालिकाकी नगर उपप्रमुख तारा देवी कानुले गरिन्। कार्यक्रमको सञ्चालन लक्ष्मी खरेलले गरेकी थिइन्।
गढिमाईको मेलाको सन्दर्भमा असोज १७ गते भब्य शुभ यात्रा एवम् कलसयात्रा गरिने छ। मंसिर २२ गते राँगा र २३ गते बोका बलि चढने छ।


