जीतपुरसिमरा नगर स्तरीय अन्तर बिद्यालय बुद्धिचाल ( चेस) प्रतियोगितामा निरज विश्वकर्मा प्रथम

रञ्जन यादव
264 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सखुवाघाटमा नगर स्तरीय अन्तर बिद्यालय बुद्धिचाल(चेस) प्रतियोगितामा निरज विश्वकर्मा प्रथम भएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा वडा नं.१६ स्थित जनजागृती मा.वि.सखुवाघाटमा अश्विन १० गते देखि १२ गते सम्म सो प्रतियोगिता भएको हो।

प्रतियोगितामा २२ बिद्यालयको एउटा छात्र र छात्रा गरी ४४ जना बिद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा छात्र तर्फ श्री ने.रा.मा.वि. सिमराका विश्वकर्माले प्रथम स्थान हासिल गरेका हुन्।

सो प्रतियोगितामा श्री जनता मा.वि.रजघट्टाका मेघराज चौलागाई द्वितीय र प्रोग्रेस एकेड्मी डुमरवानाका यमन तिवारी तृतीय स्थान प्राप्त गरेका छन्।

त्यस्तै छात्रातर्फ जनजागृती मा.वि. सखुवाघाटका निर्मल बल प्रथम,लोटस एकेड्मी सिमराका काजल कुशवाहा द्वितीय र श्री राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदन डुमरवानाका एन्जीला रिजाल तृतीय भएको प्रतियोगिता ब्यवस्थापन गरेका बिद्यालय जनजागृती मा.वि. सखुवाघाटका प्रधानाध्यापक ज्ञानबहादुर राना मगरले साझेदारी दैनिकलाई जानकारी दिए।

प्रथम हुने बिद्यार्थीलाई रु पाँच हजार,द्वितीय हुनेलाई रु तीन हजार र तृतीय हुनेलाई रु दुई हजार नगद,मेडल र प्रमाण पत्र पुरस्कार स्वरुप वितरण गरिएको थियो।

उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद माहाशाखाका उपसचिव शिवजी प्रसादले बिजयी बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका हुन्।

प्रतियोगिताको निर्णायकको भूमिकामा जनजागृती मा.वि. सखुवाघाटका शिक्षक अजयकुमार चौधरी र रामाकान्त चौधरी रहेका थिए।

प्रतियोगितामा सहभागिता जनाएका सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो। जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा विभन्नि बिद्यालयमा २१ वटा प्रतियोगीता गर्ने योजना रहेको जनाएको छ ।

Leave a review