कृषि औजार कारखानाको भयो रंगरोगन

राम मण्डल
424 पाठक संख्या

वीरगञ्ज : पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकास्थित कृषि औजार कारखानाको बाहिरी भागलाई रङ्गरोगन गरिएको छ।

कृषि कारखानाको भवनलाई रङ्गरोगन गरिएपछि चम्किन थालेको छ। तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको अगाडिको भाग दशैं तथा तिहारको बेलामा रङ्गरोगन गरिएको हो।

पहेँलो रँगले रँगाइएको भवनमा कारखानामा उत्पादन गरिने बिभिन्न किसिमका कृषि उपकरणहरुको तस्वीर मार्फत रेखांकन गरिएको छ। नेपाल कमर्शियल आर्टिस्ट एशोसिएसनका कलाकारले निःशुल्क रङ्ग लगाएर कारखानाको अगाडिको भागलाई रङ्गरोगन गरिदिएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ।

सरकारले बन्द गरिदिएपछि कारखानाका उपकरणसंगै भौतिक संरचना समेत खिया लागेर जिर्ण भएको थियो। डा.महावीर पुनः नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको छ।

यससंगै कारखाना भित्रका औजार तथा उपकरण पनि सञ्चालनमा ल्याइएको छ। अहिले कृषि औजार कारखानामा १० किसिमका कृषि उपकरणहरु त्यहाँ कार्यरत रहेको ईन्जिनियरहरुले निर्माण गरिसकेका छन्। ती कृषि उपकरणहरुलाई चाँडै बजारमा समेत पठाईने छ।

सरकारले ०७९ साल असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो। केन्द्रले औपचारिक रूपमा सोही बर्षको माघ महिनादेखि कारखानामा काम गर्न शुरु गरेको थियो ।

कारखाना सञ्चालनको लागि आविष्कार केन्द्रका प्रमुख पुनले आफनो जीवनी कथा लेखिएको पुस्तक देशका विभिन्न स्थानमा पुगेर बिक्री गरि रकम संकलन गर्दै आएका छन्।

Leave a review