सुरुङ खनेर पाँच लाख बढीको चोरी,मोबाइल लोकेसनको आधारमा यूवाले समाते चार चोरलाई

साझेदारी दैनिक
352 पाठक संख्या

गरुडा : करण कुमार मिश्र : रौतहट जिल्लाको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिकामा बुधबार राती युवाहरुले चोरलाई पक्राउ गरेका छन्। उनीहरुले मोबाईल लोकेशनको आधारमा चार जना चोरलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका हुन्।

फतुवा विजयपुर– ६ पेटभर्वा गाउँका अच्छेलाल साहको घरमा बुधबार राती चोरहरूले चोरी गरेका थिए। सुरुङ खनेर घरभित्र उनीहरु प्रवेश गरेका हुन्।

पाँच वटा मोबाइल गरगहना र नगद २ लाख सहित ५ लाख बढीको सामान चोरेर चोरले लागेका थिए। चोरलाई पछ्याई रहँदा ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले समयमा सहयोग नगरेको पीडितको गुनासो रहेको छ।

पीडित परिवारले फोन गरेर इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा कुनै वास्ता नगरेपछि गाउँको युवाहरू सक्रिय भएका थिए। उनीहरुले चोरी भएको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै गएका थिए। खोजी गर्दै जाँदा फतुवा गाउछेउको मठ नजिक ४ जना चोरलाई युवाहरुले समातेका थिए।

चोरहरुको साथबाट चोरी भएको मोबाइलहरू गरगहना,नगद बरामद भएको थियो। यसपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराउँदा त्यहाँबाट गएको टोलीले चारैजना चोरलाई समातेको स्थानीय समाजसेवी राजकिशोर साहले साझेदारी दैनिकलाई बताए।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले घटनाको पुष्टी गरेका छन्। प्रवक्ता रायका अनुसार सुनको गरगहना, नगद र मोबाईल गरी जम्मा ८ लाख बराबरको सामानहरु चोरी गरी लगेको खवरको आधारमा ईप्रका विजयपुरबाट प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र कुमार ढकालको कमाण्डमा ९ जनाको टोलीले आरोपी ४ जना लाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा मागीखाई जस्तो देखिने स्थायी ठेगाना नखुलेका वर्ष ६५ को रामायण नट, वर्ष ६० को लक्ष्मण नट, वर्ष ३५ को मनोज नट र वर्ष ३४ को सुनिल नट रहेको उनले बताए।

उनीहरू बसेकै ठाउँबाट सानो मोबाईल –किप्याड) थान ६, ठुलो मोवाईल (टच स्क्रिन) थान ३ र चार्जर थान ३ समेत फेला परेको प्रनाउ रायले जानकारी दिए। आरोपी चारैजना चोरहरु ईलाका प्रहरी कार्यालय विजयपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आरोपीहरु केही समय देखि फतुवा बिजयपुर ७ फतुवा गाउँ ठाउमा त्रिपाल टाँगेर सपरिवार बस्दै आएका थिए। घरका महिला पुरुष दिनभरि गाउँ गाउँ घुमेर भिख माग्ने गरेका थिए। चारैजना चोर गाउँ गाउँमा घुमेर मागेर खाँदै हिँडने घुमन्ते गिरोहका रहेको स्थानीयहरूले बताएका छन्।

घुमन्तेहरुले यसरी चोरी गरेको यो पहिलो घटना होईन। यस अघि पनि यस्ता समूह कैयौं पटक चोरीको घटनामा समातिएको स्थानीयहरु बताउँछन्।

Leave a review

This will close in 0 seconds