जीतपुर : एनआईसी एसिया बैंक वीरगंज शाखाले मिलामतो गरी ऋणको किस्ता नबुझाएको भन्दै एक ऋणीको तीन तल्ले घर लिलाम गरेका आरोप लागेको छ ।
बाराको प्रसौनी गाउँपालिका वडा नं.१ घर भएका बर्ष ४५ का रामबाबु शर्मा ऋणीले हार्डवेयर पसलका लागि बैंकबाट ऋण लिएका थिए । तर पसल राम्ररी सञ्चालन हुन नसक्दा तीन किस्ताको रकम समयमा तिर्न नसक्दा बैंकले कर्जा असुलीका लागि लिलामी प्रक्रिया अघि बढाएको थियो ।
लिलाम गरिएको घर ८ धुरको जग्गामा रहेको तीन तल्ले भवन हो, जुन हाईवेको छेउमै अवस्थित छ । लिलामी प्रक्रियामा वडा अध्यक्षले अनियमितता गर्दै ३० लाख रुपैयाँ मूल्याङ्कन गरिएको उक्त घर आफ्ना आफन्तलाई मात्र २३ लाख रुपैयाँमा बिक्री गराएको आरोप पत्रकार सम्मेलन गरी ऋणीका बुवा रामलाल शर्माले दुखेसो गरेका छन । उनले ऋणीले लिलामी प्रक्रियामा अनियमितता भएको भन्दै जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको बताए।
मुद्दा हालसम्म विचाराधीन रहे पनि प्रसौनी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष लालबाबु मुखियाले आफ्ना सहयोगीहरूको मद्दतले ऋणीलाई घर खाली गर्न दबाब दिइरहेका ऋणीका बुवा शर्माले बिहीबार घरमा पत्रकार सम्मेलन गरेर दुखेसो गरे ।ऋणीका बुवाका अनुसार उनले पसल नचलेको कारणले किस्ता तिर्न नसकेका थिए ।
अदालतको फैसला नआउँदासम्म वडा अध्यक्षको यस्तो दबाबले अन्याय परेको उनले बताए । ऋणी शर्माले प्रसौनी गाउँपालिका वडा नं.३ स्थित किता नम्बर ४८४ नम्बरको ८ धुर जग्गा र परवानीपुर गाउँपालिका वडा नं.५ स्थित किता नम्बर ४६९ को १५ धुर जग्गा धितो राखि ऋण लिएका थिए । यी दुबै जग्गा धितो राखेर क्रमस ४० लाख र ३५ लाख रुपैया ऋण लिएको ऋणीका आमाले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।
ऋणीका परिवारजनले लिलामी प्रक्रियामा पारदर्शिता नभएको भन्दै विरोध जनाएका छन्। यस प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायले चाँडै कदम चाल्न उनीहरुले सम्बन्धित निकायसँग उनले माग गरेका छन् ।


