Sajhedari Daily
Latest News from Nepal

नेपाल भारत सिमा क्षेत्रमा रहेका जिल्ला स्तरीय बैठक सम्पन्न

भारतको विहार राज्यको तेश्रो चरणको निर्वाचनलाई लक्षित गर्दै भारत र नेपालका सुरक्षा प्रमुखहरुको बैठक सोमवार बाराको कलैयामा सम्पन्न भएको छ ।

बैठकमा भारतको विहार राज्यको पूर्वी र पश्चिम चम्पारण जिल्लाका प्रमुख एव नेपालको बारा पर्सा, रौतहट, चितवन र पूर्वी तथा पश्चिम नवलपरासी जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

भारतका तर्फबाट पूर्वी चम्पारणका डिस्ट्रीक्ट मजिस्ट्रेट शिसंत कपिल अशोकले नेतृत्व गरेका थिए भने नेपालका तर्फबाट चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नेतृत्व गरेका थिए ।

बैठकमा भारतको विहार राज्यको नोभेम्बरमा हुन गईरहेको तेश्रो चरणको राज्यसभाको निर्वाचनलाई स्वच्छ एवं मर्याादिन बनाउन तीन दिन सिमा क्षेत्र सिल गर्ने निर्णय भएको छ । यसै गरी सिमा क्षेत्रमा हुने अपराध, अवैध हातहतियार तथा बन्दोबस्तीको ओसार पसारमा पूर्णरुपमा नियन्त्रण गर्ने लगायतका विषयमा सहमति भएको बैठक पश्चात आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको थियो ।

बैठकमा चोरी निकासी एवं तस्करी नियन्त्रण एव कोभिड १९ नियन्त्रणका लागि सामुहिक रुपमा अघि बढ्ने सहमति भएको समेत जनाईएको छ ।

बैठकमा भारतका तर्फबाट २३ जना र नेपालका तर्फबाट २६ जना गरी ४९ जनाले सहभागिता जनाएका थिए ।
बैठकमा सुरक्षा निकायका अलावा भारतीय निर्वाचन आयोगका प्रतिनिधि र नेपालका चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

वर्षमा दुई पटक नियमित हुने बैठक यस पटक नेपालले बाराको कलैयामा आयोजना गरेको हो । करिव ३ घण्टा चलेको बैठकमा नेपालका तर्फबाट चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई बैठकका एजेण्डाहरु प्रस्तुत गरेका थिए ।