महागढीमाई नगरपालिकाको शैक्षिक गुणस्तर खस्किदै,अनुपस्थित विद्यार्थीको हाजिर गरेर खाजामा अनियमितताको शंका

साझेदारी दैनिक
688 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय शिवशंकर यादव आधारभुत विधालय पत्रहट्टीको शिक्षाको अवस्था खस्किदै गएको छ ।

दैनिक बिधालय समयमा बिधालय नखुल्दा र शिक्षक समयमा बिधालय नआउदा बिद्यार्थीहरु बिधालयकै प्राङ्गणमा केही बेर बस्न बाध्य भएका छन् ।

त्यस्तै बुधबार ९ः५० सम्म उक्त बिधालय खुलेको थिएन । बिधालयमा शिक्षकहरु आफ्नै मनोमानी समयमा आउने र हाजिरी गर्ने गरेको अभिभावक दिपन सहनीले बताएका छन् ।

उनको कक्षा ३ मा पढिरहेको छोरीलाई गुणा,भागा,जोडघटाउ र अङ्ग्रेजी अक्षर बिधालयकै प्राङ्गणमा अभिभावक र शिक्षकहरुको अगाडि लेख्न ल्गाउदा लेख्न सकेनन् ।

विद्यालयमा पढ्ने बालबालिका सबै ठीकठाक भए पनि शिक्षक योग्य नभएको र घरका लागि गृह कार्य कहिल्यै नपाएको सहनीले गुनासो गरेका छन् ।

महागढीमाई नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष विक्रम प्रसाद यादवले उक्त बिधालयमा पढ्ने बिद्यार्थीहरुसंग प्रश्न गर्दा आफ्नै बिधालय तथा प्रधानाध्यापकको नाम समेत थाहा नरहेको उनले बताए ।

उक्त बिधालयका बिद्यार्थीहरुसंग ए,बि,सि,डि र शिक्षासंग आफ्नो बिधालयको नाम लेख्न लगाउदा शुद्धताले लेख्न नआएको उनले बताए ।

दुई महिनादेखि विद्यालयको अगाडि बिधालयको नामसहितको बोर्ड राख्नलाई प्रधानाध्यापकलाई भनिरहदा हालसम्म बोर्ड लगाउन नसकेको उनले भने ।

नेपाल सरकारको नियमअनुसार सबै शिक्षहरु पोशाक भाता लिने गरेको छ । तर यस बिधालयका प्रधानाध्यापक महेन्द्र प्रसाद साहसहित शिक्षकहरुले बिना पोशाक र शिक्षक परिचयपत्र बिधालय आउने गरेको रास्वपा पार्टी नगर अध्यक्ष यादवले गुनासो गरे।

कक्षामा अनुपस्थित रहेका सबै बिद्यार्थीहरुको हाजिरी गरि दिवा खाजाको पैसा खाने काम गरिएको तथा दिवा खाजामा व्यापक अनियमितता भइरहेको यादवले भने ।

बुधबार विद्यालय पुग्दा कक्षा ५ मा कुल १९ जना बिद्यार्थीहरुको हाजिरी राजिस्टरमा नाम रहेको मध्य ९ जना बिद्यार्थी कक्षामा उपस्थित जनाइएका थिए तर दैनिक सबै बिद्यार्थीहरुको हाजिरी शिक्षकहरु आफैले बनाइदिने गरेको यादवले बताए ।

त्यस्तै कक्षा ३ मा कुल ३१ जना विद्यार्थीमा १९ जम्मा कक्षामा उपस्थिति भएको सबै अभिभावकले देखेका थिए । विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद साहले घण्टी बजाउने र कक्षा कार्यतालिका चार्ट बनाइने र नयाँ शिक्षकहरूको मौखिक व्यवहारमा सञ्चालन भइरहेका गतिविधिहरूबारे जानकारी गराए।

बिधालयमा १ सय ८८ जना बिद्यार्थीको राजिस्टरमा नाम रहेको तर दैनिक १ सय ५० जना बिद्यार्थी पढन आउने गरेको प्रअ साहले बताए ।

कक्षामा अनुपस्थित रहेका विद्यार्थीको कसरी हाजिरी बनाइएको हो त्यो विषयमा शिक्षकहरुसंग बुझने प्रअ साहले बताए ।

विद्यालयको हाजिरी रजिष्टर हेर्दा सवै दिन सवै १०० प्रतिशत नै विद्यार्थीहरु विद्यालयमा आएको देखिन्छ । तर विद्यालयमा भने आधा पनि विद्यार्थी नआउने अभिभावकहरु बताउछन । दिवा खाजा र शिक्षक दरबन्दी मिलानका लागि भने पनि सवैको हाजिरी गर्ने गरेको प्रअ साहले स्वीकार गरेका छन ।

विद्यालय व्यवस्थापन समिति गठन भएको सात महिना बितिसक्दा पनि बिधालयमा एउटा पनि बैठक नभएको सदस्य सुभाष कुमार साहनीले जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds