रौतहट । रौतहटको वृन्दावन नगरपालिकाले डिजिटल प्रोफाइल निर्माण कार्यमा जुटेका छन् ।
नगरपालिकाले डिजिटल प्रोफाइल मार्फत नगर भरिकै वास्तविक तथ्यांक संकलन गरेर नगर भित्र रहेका किसान, युवा,विधार्थी,कर्मचारी,अपांग,बिरामी तथा शिक्षा,स्वास्थ्य,कृषि लगायतका पूर्वाधारको स्थिति र पहुँचलाई डिजिटल तथ्यांकमा समावेश गरेर आगामी वर्षको बजेट विनियोजन गर्ने सोचले उक्त प्रोफाइल निर्माणमा तीव्रता दिएका हुन् ।
नगरपालिकाले डिजिटल प्रोफाइल त्यार पार्नका लागि १२ जना कर्मचारी नियुक्त गरेका छन् । कर्मचारीहरु मध्ये नौ जना गनकहरुलाई घरधुरी संकलन र तिनजनालाई संस्थागत घरधुरी संकलनका लागि नियुक्त गरिएको छ। र उक्त कर्मचारीहरु नगरपालिकाको नौ वटै वडाहरुको घरघरमा पुगेर प्रोफाइल तयार पार्ने छन्।
डिजिटल प्रोफाइलले नगरपालिकाको कामकाज प्रभावकारी हुने र प्रोफाइलको आधारमा नीति तथा कार्यक्रम ल्याउन सकिने भएकाले डिजिटल प्रोफाइल निर्माण गरिरहेको वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताए ।
‘प्रोफाइलमार्फत नगरपालिकाको मार्गचित्र देखिने भएकाले त्यही अनुसार बजेट विनियोजन गर्न सजिलो हुने उनको भनाइ छ । नगरपालिकाको दीर्घकालीन योजना निर्माणका लागि समेत डिजिटल प्रोफाइल जरुरी रहेको र तथ्यांकको विश्वसनीयताका लागि समेत डिजिटल प्रविधिमा भण्डारण गर्न थालिएको उनलेे बताए ।
नगरपालिकाका अनुसार बाल विवाह,बहुविवाह,महिनावारी प्रथा लगायतका सामाजिक विकृतिको अवस्थाबारे समेत तथ्यांक राखिनेछ ।
वृन्दावनमा अहिले बालविवाह र दाइजो प्रथा लगायत अन्य कुरितिहरु रहेकोले प्रोफाइलका आधारमा कार्यक्रम सञ्चालन गरेर प्रथाको अन्त्य गर्न सहज हुने नगरपालिकाले जनाएको छ । शिक्षा,स्वास्थ्य,विद्युत्, सडक र सञ्चार लगायतको पहुँचबारेको सूचांक समेत तथ्यांकमा समावेश गरिनेछ ।
डिजिटल प्रोफाइलमार्फत अहिलेको अवस्था,आगामी वर्षको सम्भाव्यताबारे समेत विश्लेषण गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले बताए । ‘नगरपालिकाको पुरै जानकारी मोवाइल प्रबिधिमार्फत डिजिलाइजेसन गर्ने उदेश्यले डिजिटल प्रोफाइल निर्माण भइरहेको हाकिम भुजेलले जनाए ।
अब समानुपातिक र आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सजिलो हुने उनको भनाइ छ ।

