सिरहामा अवैध लागूऔषध खैरो हेरोइन सहित चार पक्राउ

साझेदारी दैनिक
318 पाठक संख्या

कलैया : प्रहरीले सिराहाको लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट शुक्रबार सांझ अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका–२२ लबटोली बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र उनकै बहिनी २६ वर्षीया किरण कुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम, नगद ५१ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहा,इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले को.५ प ६९२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा प्रहरीले दिनेशको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० ग्राम, ५४ लाख १४ हजार २ सय ८५ नेपाली रूपैयाँ,३५ हजार ७ सय ८० भारतीय रूपैयाँ,मोबाइल ४ थान र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ।

यसैगरी प्रहरीले सिराहाको बरियारपट्टी गाउँपालिका–३ चमार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–३ बस्ने २० वर्षीय कृष्ण कुमार यादव र सोही गाउँपालिका–२ तुलसीपुर बस्ने १९ वर्षीय निरज राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय १० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले भारत लदनियाबाट बरियारपट्टीतर्फ आउँदै गरेको प्र.२–०१–००२ प ३०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। उनीहरु माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds