कलैया । बाराको सदरमुकाम कलैयामा विभिन्न माग राख्दै सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन यातायात बन्द गरेकोमा सहमतिपछि खोलिएको छ।
बस,म्याजिक भ्यान र ईभि गाडी लगायतका यातायात संघहरुले विभिन्न माग राख्दै बुधबारदेखि कलैयाको भरत चोकमा गाडी रोकि यातायात बन्द गरेका थिए।
यसैविच जिल्ला प्रशासन कार्यालय बाराको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको बैठकले छ सुत्रीय निर्णय गर्दै यातायात खोलेको हो।
बैठकले सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धमा यस अघी भएका सहमति पूर्ण कार्यन्वयन गर्न सबै सरोकारवालाहरुले सहयोग एवं समन्वय गर्ने निर्णय गरेको छ।
असार २७ गते शुक्रबारदेखि एकतर्फी पूर्ण कार्यान्वयन गर्ने निर्णय सो बैठकले गरेको हो। वीरगंज सेक्टरका सवारी साधन बसपार्क हुँदै आलोपालो दासगेष्ट हाउस अगाडी यात्रु राखी हिंडेपछी बालमन्दिर अगाडी मात्र रोक्न पाइने निर्णय भएको हो।
काठमाण्डौँ नारायणगढ रुटमा संचालन भईरहेको सुमो र इभी आलोपालो गरी बसपार्कबाट आई राम मन्दिरपूर्व पट्टीको खाली ठाँउमा यात्रु चढाएर गन्तव्यतर्फ जाने निर्णय भएको हो।
तीनपाङ्गग्रे सवारी साधनलाई अत्यावश्यक वाहेकको अवस्थामा बाहेक अन्तरपालिका संचालन गर्न पूर्ण रोक लगाउने निर्णय भएको छ।
सार्वजनिक यातायात संचालन एवं व्यवस्थापन सहजीकरण गर्नका लागि सात दिन भित्र जिल्ला प्रशासन कार्यालय बारा,जिल्ला प्रहरी कार्यालय बारा,जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा,कलैया उपमहानगरपालिका र यातायात व्यवसायीको समेत प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय सो बैठकले गरेको छ।
कलैया भरत चोकमा होहल्ला गर्दै यात्रु तान्ने,झोला थुन्ने जस्ता गैर व्यवसायीकार्यलाई कडाईका साथ रोक्ने निर्णय भएको छ।
साथै यातायात व्यवसायीहरुले बुधबारदेखि बन्द गरिएको सार्वजनिक यातायात तत्काल खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
उक्त बैठकमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साह,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,आन्दोलन समिति,सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो।

