बारा र सर्लाहीका उखुबालीको अनुगमन तथा मूल्याङ्कन कार्यक्रम

रञ्जन यादव
491 पाठक संख्या

जीतपुर : बारा र सर्लाही जिल्लामा लगाईएका उखुबालीहरुको अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न गरिएको छ ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम,जीतपुरको आयोजनामा कृषि अनुसन्धान तथा प्रबिधि प्रवद्र्धन परियोजना अन्तरगत उक्त संयुक्त अनुगमन तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रम अन्तरगत बारा र सर्लाही जिल्लाका विभिन्न क्षेत्रहरूमा लगाइएको उखुबालीको अवस्था,प्रयोगमा आएका विभिन्न जात (भेरिएन्ट),देखिएका समस्या र समाधान उपाय तथा ट्रायलमा रहेका उखुका बेर्ना सम्बन्धी अध्ययन तथा अवलोकन गरिएको थियो।

सो अवसरमा कार्यक्रमका संयोजक डा. दिलराज यादवले सहभागितामूलक तरिकाबाट उखुको जातीय छनोट,उपयुक्त प्रविधिको छनोट तथा उखु विकास र प्रवद्र्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन । उनले उखुको उत्कृष्ट जातको आवश्यकता,प्रविधिको न्यून प्रयोग, कुशल बीउ उत्पादन कार्यक्रमको अभाव, मेसिनरी प्रविधि नहुँदा श्रम लागत उच्च हुने, कृषकहरू माझ प्रविधि विस्तार हुन नसकेको बताए ।

तथा सरकारी संलग्नता कमजोर रहेको जस्ता विषयमा आफ्नो प्रस्तुति राखे। कार्यक्रममा सहभागी चिनी मिलका महाप्रबन्धक तथा प्रबन्धकहरूले उखुको जातमा समस्या रहेको, किसानको खर्च कम गर्नुपर्ने, सरकारी अनुदान नपाएको, कृषि उपकरणमा कर लगाइएको, किसानको उपकरण खरिद गर्ने क्षमता नभएको तथा मिल र कृषि ज्ञान केन्द्रबीचको सहकार्य अझ मजबुत पार्नुपर्ने विषयमा जोड दिए।

कार्यक्रममा रिलायन्स सुगर इन्डस्ट्रीज बाराका उखु प्रबन्धक अवध झा, हिमालय सुगर मिल सिरहाका महाप्रबन्धक अवध किशोर यादव, एभरेष्ट सुगर फ्याक्ट्री रामनगर महोत्तरीका महाप्रबन्धक विनोद कुमार यादव, इन्दुशंकर चिनी उद्योग हरिऔन सर्लाहीका महाप्रबन्धक योगनारायण रजक, बाबा बैजु सुगर इन्डस्ट्रीजका उखु विकास प्रमुख मनोज कुमार सिंह, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साह, कृषि ज्ञान केन्द्र सुनसरीका बाली संरक्षण अधिकृत सुब्रत आचार्य लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले उखु खेतीमा देखिएका समस्याको पहिचान, वैज्ञानिक उपायको अवलम्बन तथा सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको कुरामा जोड दिएको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका अधिकृत धरमेन्द्र यादबले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds