कलैया : जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कलैयाले कलैया उपमहानगरपालिका–४ स्थित अमृता अनाथ आश्रम र विपन्न परिवारलाई सहयोग प्रदान गरेको छ। वित्तीय सुधारको अवसरमा सो सहयोग गरिएको हो।
उक्त सामग्रीहरू जीवन विकास लघुवित्त शाखाका शाखा प्रबन्धक सचिन्द्र कुमार शाह र कलैया उपमहानगरपालिका–४ का वडाध्यक्ष रामेश्वर प्रसाद यादवले संयुक्त रुपमा बुधबार हस्तान्तरण गरेका थिए।
कार्यक्रम अन्तर्गत अनाथ आश्रमलाई आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ। पाँच जना विपन्न परिवारलाई पुनः व्यवसाय सञ्चालनमा सहयोग गरिएको हो। एक जना विपन्नलाई खाद्यान्न सामग्री प्रदान गरिएको कलैया शाखाका प्रबन्धक साहले जानकारी दिए ।
त्यस्तै तीन जना विपन्न परिवारका विद्यार्थीहरूलाई निःशुल्क लुगा,कापी र कलम वितरण गरिएको उनले बताए ।
यता अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतले यस्ता कार्यक्रमले बालबालिकाहरु धेरै खुशी हुने गरेको बताएकी छिन्।


