शान्ति आधारभूत विद्यालयमा ६ कोठे नयाँ भवन हस्तान्तरण

रञ्जन यादव
255 पाठक संख्या

बारा : भवनको अभाव झेल्दै आएका बिकट र दुर्गम क्षेत्रमा रहेका जीतपुरसिमरा उपमहानगरपालिका–१६, टाँगिया बस्ती स्थित शान्ति आधारभूत विद्यालयलाई ६ कोठे नयाँ भवन हस्तान्तरण गरिएको छ ।

श्री साथी नेपालको समन्वय र चाइल्ड रेस्क्यु नेपालको सहकार्यमा निर्माण गरिएको भवनको उद्घाटन बारा क्षेत्र नं. ३(क) का प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठले गरेका हुन्। उनले साथी नेपालले गरेको कार्यप्रति प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। साथै विद्यालय कम्पाउन्ड नघेरिँदा जंगली जनावरको आक्रमणको खतरा हुने भएकाले प्रदेश सरकारमार्फत संसदिय कोषबाट चाहिने रकम बिनियोजन गर्ने आश्वासन पनि दिए।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका श्रेष्ठले भवन निर्माणको अनावरण गरी उद्घाटन गरेका थिए ।चाइल्ड रेस्क्यु नेपालका कन्ट्री डायरेक्टर भास्कर कार्कीले विद्यालय भवनको अवस्था निकै दयनीय रहेको स्मरण गराउँदै भने, “विद्यार्थीहरूको पढाइ र अनुशासनको अवस्था राम्रो देखिए पनि संरचनागत अभावले समस्या हुँदै आएको छ।

हामीले विद्यार्थीहरूसँग भेटेर खिचेका तस्बिर सामाजिक सञ्जालमार्फत बेलायतका साथीहरूसम्म पुगेपछि सहयोग जुट्यो र भवन निर्माण सम्भव भयो।”श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले विद्यालय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै भनिन्, “सहयोग आवश्यक रहेका विद्यालयहरूले सम्पर्क गर्न सक्नेछन्। हामीले सकेसम्म आवश्यक विद्यालयहरूको पूर्वाधार निर्माणमा पहल गर्नेछौँ।”यस भवन निर्माणसँगै टाँगिया बस्तीका बालबालिकाले सुरक्षित र व्यवस्थित वातावरणमा शिक्षा प्राप्त गर्ने आशा सहयोगी संस्थाले गरेको छ ।

नयाँ भवन हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला अधिकारी , वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेल ,वडा नं.१४ का वडा अध्यक्ष चयन गुरुङ्ग ,समाजसेवी रमेश सापकोटा लगायतको सहभागीता रहेको थियो ।

Leave a review