वीरगञ्ज : टिकटकर किरण साहलाई पर्सा जिल्ला अदालतले ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पर्सा जिल्ला अदालतका माननीय न्यायाधीश कमलकान्त जोशीको इजलासले रिहा गर्न आदेश दिएको डिएसपी प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए।
टिकटकर साहमाथि संघीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको आरोप रहेको छ। यही आरोपमा पर्सा प्रहरीले गत शनिबार उनलाई पक्राउ गरेको थियो। उनलाई प्रक्रिया पु-याएर रिहा गरिने डिएसपी लम्सालले जानकारी दिए।
साइबर तथा विद्युतीय अपराध, सङ्घीय सांसदलाई धम्की र झुटा अफवाह फैलाएको कसुरमा पर्सा प्रहरीले मुद्दा दर्ता गरेको थियो। बाराको कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुर स्थायी घर भई हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी साहमाथि मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले उजूरी दिएका थिए।
साहले वीरगञ्जमा हैजा सङ्क्रमण फैलिएको र बोरिङको पानीका कारण मानिसको मृत्यु भएको दाबी गरेकी थिइन्। यस सम्बन्धमा मन्त्री यादवलाई फोन गरेर र मेयर सिंहलाई टिकटक र फेसबुकमार्फत धम्की दिएकी थिइन्।
पर्सा जिल्ला अदालतले साहलाई अनुसन्धानका लागि दुई पटक गरी ६ दिन हिरासतमा राख्ने यसअघि अनुमति दिएको थियो । मन्त्री यादवसंग फोनमा चर्को स्वरमा कुराकानी गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त अडिओमा साहले वीरगञ्जको हैजा सङ्क्रमण र बोरिङको पानीको गुणस्तरलाई लिएर मन्त्रीसँग आक्रोश व्यक्त गरेकी थिइन्।


