जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानमा घटस्थापनाको अवसरमा सोमबार विधिपूर्वक कलश यात्रा निकालिएको छ ।
दशैंको पहिलो दिन दुधौरा खोला किनारबाट शुद्ध जल ल्याई श्रद्धालु भक्तजनहरूले कलशमा भरेर पूजा स्थलमा स्थापना गरेका छन । जीतपुर, बकुलीया, रमौलिलोसन्डा लगायतका स्थानमा स्थापित दुर्गामाताको प्रतिमा स्थलमा भक्तजनहरूले कलशमा जल अर्पण गर्दै पूजाअर्चना गरेका छन् ।
धार्मिक परम्परा अनुसार घटस्थापनाका दिन कलशमा जल भरेर देवीको पूजा आरम्भ गर्ने परम्परा रहेको छ । कलश यात्रामा महिलादेखि युवासमेतको उत्साहजनक सहभागिता थियो ।
धार्मिक झाँकी, बाजागाजा र नृत्यसहितको शोभायात्राले स्थानीय वातावरण उत्सवमय बनेको थियो ।यस अवसरमा स्थानीय बासिन्दाहरूले दशैंजस्तो महान चाडले धार्मिक आस्था र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।


