वीरगञ्ज । वीरगञ्जको गहवामाई मन्दिर नजिकैको दसैँ मेलामा भएको झडपमा एक युवकको मृत्यु भएको छ।
मङ्गलवार राति युवाहरूको दुई समूहबिच भएको झडपमा परी बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) को मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका उनी पेसाले ई–रिक्सा चालक हुन्।
माईस्थानबाट गीता मन्दिरतर्फ जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबिच भएको विवाद कुटपिट भएको र शीवममाथि बाँसको लट्टीले प्रहार गरिएको हो।
उनलाई नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।घटनापछि प्रहरीले तत्कालै दश जना युवालाई नियन्त्रणमा लिएको छ ।
घटना ‘ग्याङ फाइट’ नभई एक व्यक्तिलाई लक्षित गरी आक्रमण भएको पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। दुवै समूहहरूबिच पुरानो रिसिइबिका कारण झडप भएको हो।
पोस्टमार्टम पश्चात् अझै जानकारी दिन सकिने र घटनाको अनुसन्धान जारी रहेको छ। गहवामाई मन्दिरबाट केही सय मिटरको दूरीमा सो घटना भएको हो।
वीरगञ्ज र जिल्लाको शान्ति–सुरक्षा कडा रहेको दाबी प्रहरीको रहेको छ। प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएर दोषीलाई कडा कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

