रौतहटमा बाढीको कहर : चार जनाको मृत्यु, दर्जनौ गाउँ डुवानमा

Om Prakash Yadav
443 पाठक संख्या

रौतहट । अविरल वर्षाका कारण रौतहटमा मानवीय र भौतिक दुवै क्षति भएको छ । वर्षाले रौतहटमा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दर्जनौ गाउँका सयौं घरहरु डुवानमा पर्दा लाखौंको क्षति भएको पाइएको छ ।

हिजो विहानदेखी आज विहानसम्म लगातार भएको भारी वर्षाका कारण जिल्लाको अधिकांश भू–भाग जलमग्न भएको छ भने दर्जनौ गाउँबस्ती डुवानमा परेको छ । वर्षापछि आएको अत्याधिक बाढीका कारण जिल्लाका प्रमुख दुई ठुला नदी बागमति र लाबकैया नदीको बाँध दुइ ठाउँमा फुटने जोखिम बढेको छ ।

अत्याधिक वर्षाका कारण नदीहरुमा आएको बाढीको पानीले जिल्लाको विभिन्न सडकखण्ड अवरुद्ध समेत भएको छ । वर्षाका कारण क–कस्ले ज्यान गुमाए रौतहटमा वर्षाका कारण अहिलेसम्म चार जनाले ज्यान गुमाएका छन् । तिन जनाको चटयाङ लागेर मृत्यु भएको छ भने एक जनाको बागमति नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

वर्षासँगै हिजो शनिवार साँझ खसेको चटयाङ लागेर कटहरिया नगरपालिका –२ हथियाहीका अन्दाजी १६ वर्षिय सेहराज लहरी र सोही ठाउँका १७ वर्षिय नवीन यादवको मृत्यु भएको छ ।

त्यस्तै इशनाथ नगरपालिका–८ मनसरीका शेख इद्रिशको ४५ वर्षीय छोरा ननका भन्ने शेख जमरुणको पनि चटयाङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हिजो साँझ आफनै घरको बराण्डामा बसिरहेको अवस्थामा वर्षासंगै एक्कासी खसेको चटयाङ लागेर जमरुणको घटनास्थलमै मृत्यु भएको थियो ।

यसैगरी आज विहान बागमति नदिमा आएको बाढीको पानीमा डुबेर माधवनारायण नगरपालिका –८ खडकी रजवडाका हरिवंश राय यादवकी ७५ वर्षीया श्र्ीमति पन्मा देवीको मृत्यु भएको छ ।

आज विहान साढे ९ बजेको समयमा बागमति नदीमा दाउरा टिपन्ने क्रममा बागमति नदीले बगाउँदा पन्मा देवीको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

वर्षापछि बागमति नदीमा भिषण बाढी आएको छ । उक्त नदीमा दाउरा टिप्न गएकी पन्मा देवीलाई नदीले बगाएको थियो । स्थानीय र प्रहरीको सहयोगमा पन्मा देवीको शव फेला परिसकेको डिएसपी कार्कीले बताए ।

पन्मा देवीको शव अहिले नदी किनारमा सुरक्षित राखिएको छ भने घटनास्थलमा इलाका प्रहरी कार्यालय गंगा पिपराका प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको उनले बताए ।

कुन कुन ठाउँमा बाँध भत्किने अवस्थामा छन

वर्षापछि अत्याधिक बाढी आएको कारण जिल्लाको दुई ठाउँमा नदीको बाँध भत्किने अवस्थामा पुगेको बताइएको छ । गढिमाई नगरपालिका –६ धर्मपुर ब्रहमस्थान स्थित बागमति नदीको तटबन्ध भत्किने अवस्थामा पुगेको छ । लक्ष्मिपुरदेखी धर्मपुरको बागमति पुलसम्म बागमति नदीमा पानीको बहाव अत्याधिक रुपले बढेका कारण सो आसपास जुनपनि ठाउँमा समेत बाँध फुटन सक्ने उच्च सम्भावना रहेको छ ।

उक्त ठाउँमा तटबन्ध भत्किए सिंगरमन धर्मपुर, पकहा बखरी, लक्षीपुर, माधोपुर र खडी रजवाडा गाउँ डुवानमा पर्नेछन ।
त्यसैगरी मौलापुर नगरपालिका–१ मर्यादपुर स्थित लालबकैया नदीको बाँध फुटन थोरै मात्र बाँकी रहेको बताइएको छ । उक्त बाँध फुटन गएमा मौलापुर नगरपालिका–१,२,३ र ५ मा क्षति पुरयाउने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कुन कुन नदीमा बाढी आए र डुबानको समस्या कहाँ कहाँ छ
वर्षाका कारण जिल्लाको पूर्वी भेगमा रहेको बागमति, पश्चिमी भेगमा रहेको लालबकैया र मध्य भाग भएर बग्ने झाँझ नदीमा भीषण बाढी आएको छ ।

बागमति, लालबकैया र झाँझ नदीमा आएको बाढीको पानी गाउँबस्तीमा पसेको छ जसका कारण दर्जनौ गाउँका सयौं घरहरु पूर्ण रुपमा डुवानमा परेको छ । नदीहरुमा आएको बाढीले सदरमुकाम गौरको अधिकांश भू–भाग जलमग्न भएको छ भने गौरमा रहेको मालपोत, जिल्ला अदालत, कर लगाएतका सरकारी कार्यालय समेत डुवानमा परेको छ ।

त्यस्तै बागमति नदीमा आएको बाढीले गर्दा दुर्गाभगवती गाउँपालिकाको पिप्रा, मत्सरी, छतौना, राजदेवी, गौर नगरपालिकाका दर्जनौ गाउँहरु डुवानमा परेको छ । दुर्गाभगवती गाउँपालिका –२ स्थित डोरी खोलाका पानी गाउँबस्तीमा पस्दा २० घरका ८० जना विस्थापित नै भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

विस्थापित भएका व्यक्तिहरुलाई उद्धार गरी नजिकै रहेको एक विद्यालयमा बसोबास गराइएको प्रहरीले जनाएको छ । त्यस्तै लालबकैया नदीमा आएको बाढीले फतुवा विजयपुर, कटहरिया, मौलापुर, राजपुर, इशनाथ लगाएतका पालिकाका सयौं घरहरु पूर्ण र आशिंक रुपमा डुवानमा परेको छ ।

त्यस्तै झाँझ नदीमा आएको बाढीको पानीले गरुडा नगरपालिकाका केही गाउँहरु डुवानमा परेको छ । झाँझ नदीमा आएको बाढीका कारण शिवनगर स्थित रहेको महादेव मन्दिर पुरै डुवानमा परेको छ भने मन्दिर वरीपरीका भू भागहरु समेत जलमग्न भएको छ ।
त्यस्तै झाँझ नदीको बाढीको पानीले झाँझपुल, गरुडा, महम्मदपुर, लक्ष्मिपुर लगाएतका गाउँका सयौं घरहरु डुवानमा परेको छ ।

पानीले कुन कुन सडक अवरुद्ध छन

वर्षाका कारण पानीका बहाव अत्याधिक बढेको कारण जिल्लाको चन्द्रपुर नगरपालिका–१ र २ स्थित पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ भने सोही पालिकाको वडा नं. ३ स्थित गैराटारबाट चन्द्रनिगाहपुर जाने सडकखण्ड पनि अवरुद्ध भएको छ ।

अहिले यी सडकखण्डमा आवतजावत पूर्ण रुपमा बन्द छ । राजपुर नगरपालिका –३ स्थित हुलाकी मार्ग पूर्ण रुपमा अवरुद्ध छन भने मत्सरी स्थित गौर पिपरा सडक पनि अवरुद्ध भएका छ । बालचनपुर जंगलसहिया भित्रि सडकखण्ड पनि अवरुद्ध छन ।

त्यस्तै गरुडा गाउँभन्दा पूर्व गरुडा समनपुर सडकखण्डमा पनि पानीको बहाव तिव्र हुँदा आवतजावतमा ठुलो समस्या भइरहेको छ । त्यस्तै गरुडा कटहरिया सडकको झाँझपुल लक्ष्मिपुर स्थित पनि पानीको बहाव बढेकोले आवतजावतमा समस्या भइरहेको छ ।

गौर नगरपालिका–६ सवगढा लच्का स्थित पानीको बहाव बढेका कारण गौर चपुर सडकखण्डमा पनि आवतजावतमा सामान्य समस्या भइरहेको प्रहरीले जनाएको छ ।

Leave a review