Sajhedari Daily
Latest News from Nepal

रौतहटमा एक कठामा ६० क्वीनटलसम्म उखु उत्पादन हुने नयाँ प्रजातिको उखु खेती शुरु

रौशन चौधरी/
रौतहटमा यसवर्ष दोब्बर उत्पादन हुने नयाँ प्रजातिका उखु खेती शुरु गरिएको छ । कटहरीया नगरपालिका वडा नम्बर ९ स्थित रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डस्ट्रिज प्रालिले पहिलो पटक यसवर्षदेखी अन्य उखुभन्दा दोब्बरसम्म उत्पादन हुने कोजा ८५, सीओजिरो २३८ र २३९ जातका उखु खेती गर्न किसानहरुलाई उखुको बीउ उपलब्ध गाएकोछ ।

जिल्लाका पश्चिमी भेग स्थित कटहरिया फतुवा विजयपुर र गुजरा नगरपालिकाका किसानहरुले आफना खेतमा यसपाली नयाँ प्रजातिका उखु खेती गरेका छन । थोरै मिहनेतमा कम लगानी खर्चबाट बढी उत्पादन हुने भएपछि भारतको पञ्जावबाट कोजा ८५ जातका उखुको बिउ ल्याएर यहाँका किसानहरुले आफना खेतमा लगाएका छन । अन्य जातका उखुभन्दा कोजा ८५ जातका उखुको उत्पादन दोब्बर हुने भएपछि यहाँका किसानहरु कोजा ८५ जातका उखु खेती गर्नेतर्फ आकर्षित भएका छन ।

जिल्लामा यो भन्दा अघिदेखी ५१, ५२, १७८५ लगाएत जातका उखुखेती हुँदै आएको छ । यी जातहरुका उखुको उत्पादन एक कठामा २० देखी ३० क्वीन्टलसम्म मात्र हुने गरेको छ । तर किसानहरुले यसवर्ष लगाएका कोजा ८५ जातका उखु एक कठामा ५० देखी ६० क्वीन्टलसम्म उत्पादन हुने गर्दछ । अन्य उखु एक कठामा ३० क्वीन्टलसम्म मात्रै उत्पादन हुनेगरेको र कोजा ८५ जातका उखु एक कठामै ६० क्वीन्टलसम्म उत्पादन हुने भएपछि यहाँका किसानहरु कोजा ८५ जातका उखु खेती गर्नेतर्फ नै लागेका छन ।

त्यस्तै भारतबाट नै ल्याइएको सीओजिरो २३८ र २३९ जातका उखु खेती पनि जिल्लामा पहिलो पटक गरिएको छ । सीओजिरो २३८ र २३९ जातका उखु पनि एक कठामा ५० देखी ६० कवीन्टलसम्म उत्पादन हुनेभएपछि यहाँका केहि किसानहरुले सीओजिरो २३८ र २३९ जातका पनि उखु खेती गरेका छन ।

एक कठामा ५० देखी ६० क्वीन्टलसम्म उत्पादन हुने भनिएको कोजा ८५,सीओजिरो २३८ र २३९ उखु एक कठामा ५० देखी ६० क्वीन्टलसम्म उत्पादन भए आउँदो सिजनदेखी यही जातका नै उखु खेती गर्ने किसानहरुको योजना छ ।

रौतहटमा यसवर्ष शुरुमा कोजा ८५ जातका उखुको खेती करिव २५ विघा क्षेत्रफल र सीओजिरो २३८ तथा २३९ जातका उखु ४ विघा क्षेत्रफलमा मात्रै लगाएइको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज डुमरीयाका उद्योगपति बैजु बाबराले बताएका छन । एक कठा क्षेत्रफलमा कोजा ८५,सीओजिरो २३८ र २३९ जातका उखुको उत्पादन ५० देखी ६० क्वीन्टलसम्म हुने उद्योगपति बाबराले बताए ।

यी जातहरुका उखु उत्पादन गर्न किसानहरुलाई अन्य उखुजस्तै बढी खर्च पनि लाग्दैन उद्योगपति बाबराले भन्नुभयो एक विघा क्षेत्रफलमा यी जातका उखु उत्पादन गर्न एक लाखसम्म रुपैया मात्रै खर्च लाग्ने छ र एक विघामा ७ लाखको १२ हजार क्वीन्टलसम्म उखु उत्पादन हुने उनले जनाए ।

शुरु शुरुमा थोरै क्षेत्रफलमा कोजा ८५ जातका उखु खेती गरिएपनि आउँदो सिजनदेखी यस प्रजातिका उखु खेतीलाई विस्तार गरिने उद्योगपति बाबराको भनाई छ । कोजा ८५, सीओजिरो २३८ र २३९ जातका उखु अग्लो जमिनमा मात्रै हुने गर्दछ भने उखुको एउटा बोट कम्तिमा तिनदेखी चार फिटसम्मको दुरीमा लगाउनुपर्ने हुन्छ ।

यसवर्ष जिल्लामा ५१, ५२, १७८५, कोजा ८५, सीओजिरो २३८, २३९ लगाएत जातका गरी १२ देखी १५ लाख क्वीन्टलसम्म उखु उत्पादन हुने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।

भारतबाट यसवर्ष भित्रिएको कोजा ८५, सीओजिरो २३८, २३९ उखु खेतीको विस्तार भए जिल्लामा उखु खेती फस्टाउँदै जाने संघका अध्यक्ष यादवले विश्वास छ । जिल्लामा दुई चिनी उद्योग रहेकोमा श्रीराम सुगर मिल्स गरुडा बन्द अवस्थामा रहेको छ भने बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज सञ्चालन रहेको छ ।

यस्तै पछिलो समय श्रीराम सुगर मिल्स बन्द भएका कारण यहाँका अधिकांश किसानहरु निराश हुँदै उखु गर्नै छाडेका छन । भुक्तानी नदिदै श्रीराम सुगर मिल बन्द हुनु र यसअघिदेखी लगाउदै आएको उखुबालीको राम्रो उत्पादकत्व नहुनु जस्ता कारणले किसानहरु निराश भएका छन ।

उखुको उत्पादकत्व वृद्धि नहुनुको पछाडि धेरै कारणहरु भए पनि उन्नत उखु खेती र प्रविधिमा कृषकले ध्यान नदिनु एक महत्वपूर्ण कारण देखिएको छ । त्यस्तै वैज्ञानिक र प्राविधिक ज्ञानको अभाव पनि छ । कृषकहरुमा कम लागतमा धेरै उत्पादन लिने विभिन्न प्रविधिहरुको बारे जानकारी नहुँदा उनीहरूले राम्रो उत्पादन र मुनाफा गर्न सकिरहेका छैनन् ।

उखुको उत्पादकत्व वृद्धि नहुँदा राम्रो आम्दानी गर्न नसकेको किसानले गुनासो गरिरहदा यहाँको उखुको भन्दा दोब्बर उत्पादन हुने कोजा ८५, सीओजिरो २३८ र २३९ उन्नत जातको उखुको खेती गर्न शुरु गरिएकोले रौतहटमा अब फेरी पहिलाजस्तै उखु खेती विस्तार हुने बाबा बैजुनाथ केमिकल एण्ड सुगर मिल्सका प्रवन्धक के.डी.प्रसादले जानकारी दिएकाछन।

Comments are closed.