कलैया : श्यामबाबू यादव/ बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा मण्डल थरका एकै परिवारका आमाछोराको निर्मम हत्या भएको छ। अज्ञात व्यक्तिले प्रहार गर्दा ५२ वर्षीया आमा र उनका ३२ वर्षीय छोरा घटनास्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८२ माघ १४ गते बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। सो घटनामा मण्डल परिवारकै अन्य तीन जना घाइते भएका छन्।
घाइते तिन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको भन्दै बारा प्रहरीले घटनाको गहिरो अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि घटनाबारे थप विवरण दिन प्रहरी स्रोतले अस्वीकार गरेको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ भने प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।


