कलैया । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले साझेदारी राष्ट्रिय दैनिक पत्रिकाका संवाददाता सन्दीप प्रसाद यादवसहित चार जना पत्रकारलाई सम्मानित गरेका छन् ।
बाराको कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैयास्थित नम्बर १२ गणको परिसरमा आज एसपी केसीको बिदाइ कार्यक्रमबीच साझेदारीकर्मी यादवसहित चार जना पत्रकार सम्मानित भएका हुन् । सम्मानित हुनेमा नियमित खबरकी सुष्मिता यादव, न्युज खोज तलाश डट कमका भरत सर्राफ, जन सूचना न्युजका रसिद आलम रहेका छन् । सोही कार्यक्रमबीच एसपी केसीको भव्य बिदाइ पनि गरिएको छ ।
यस गणको जिम्मेवारी क्षेत्रभित्र शान्ति सुरक्षा सुदृढीकरण, सीमा सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा जनसरोकारका गतिविधिसम्बन्धी कार्यहरूमा तपाईंले आफ्नो पेशागत मर्यादा, निष्पक्षता, सत्यनिष्ठा र उच्च उत्तरदायित्वबोधका साथ तथ्यपरक तथा सकारात्मक ढंगले सूचना सम्प्रेषण गर्दै सशस्त्र प्रहरी बल र सर्वसाधारणबीच आपसी विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।
उक्त योगदानको उच्च मूल्याङ्कन गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ । तपाईंको आगामी पेशागत यात्रा अझ सफल, सम्मानित र प्रभावकारी बनोस् भन्ने शुभकामनासहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु भनी गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले प्रशंसा पत्र प्रदान गरेका हुन् । त्यसैगरी मुन्ना डिजिटल भिडियोग्राफी कलैयाका मुन्ना साह पनि सम्मानित भएका छन् ।
उक्त कार्यक्रममा नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, मटिअर्वाका डीएसपी धन बहादुर राना, सशस्त्र प्रहरी निरीक्षकहरू इन्द्रजंग थापा, उमेशकुमार आले, नायब निरीक्षक, सहायक निरीक्षकलगायत सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक विक्रम पौडेलले गरेका थिए ।

