बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक

श्यामबाबु यादव
248 पाठक संख्या

बर्दिबास,  १९ माघ/
लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मंगलबार बर्दिबासमा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा आयोजित कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री ले संयुक्त रूपमा भिडियो विमोचन गरेका हुन् ।

गीतमा बेल बहादुर परियार र प्रतिमा अर्याल को स्वर रहेको छ । गीतको शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको छ भने एरेञ्ज, मिक्स तथा मास्टरिङ राजिव शाह ले गरेका हुन् ।

म्युजिक भिडियोमा सन्जिब ठकुरीसुजाता भट्टराई को अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिना ले गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर क्षेत्रीले स्थानीय कलाकारका सिर्जनालाई राष्ट्रियस्तरसम्म पुर्‍याउन सहकार्य आवश्यक रहेको बताए । पूर्व राज्य मन्त्री थापाले गायक परियारको सांगीतिक निरन्तरताको प्रशंसा गरिन् ।

रेडियो नेपालबाट २०५१ सालमा ‘जाग नेपाली वीर नेपाली’ गीतमार्फत गायन यात्रा सुरु गरेका परियारले यसअघि पनि थुप्रै लोक तथा दोहोरी गीत सार्वजनिक गरिसकेका छन् । नयाँ गीतलाई दर्शक–श्रोताले रुचाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजन को लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ जोडिएको थियो ।
म्युजिक भिडियो गायकको आधिकारिक युट्युब च्यानल ‘बेल बहादुर परियार अफिसियल’ बाट सार्वजनिक गरिएको हो ।

Leave a review