कलैया : जिल्ला प्रशासन कार्यालय बाराले निर्वाचन आचार संहिता पालन गर्न आग्रह गरेको छ। राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन, नागरिक समाज तथा आम सर्वसाधारण नागरिकका नाममा निर्वाचन आचारसंहिता, २०८२ पालना गर्ने सम्बन्धमा प्रशासनले एक सूचना जारी गरेको हो।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने/गराउने कार्य उम्मेदवार, राजनैतिक दल, दलका भातृ संगठन, नागरिक समाज तथा आम सर्वसाधारण नागरिक सबैको कर्तव्य र दायित्व रहेको सूचनामा लेखिएको छ। यसै सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ निर्वाचन आयोगबाट जारी भई निर्वाचन नियमन गर्न÷गराउन बारा जिल्लामा क्रियाशील सबै राजनीतिक दल, दलका भातृ संगठन, नागरिक समाज तथा आम सर्वसाधारण नागरिकका नाममा प्रशासनले यो सूचना जारी गरेको छ।
राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले मतदान हुने दिन भन्दा १७ दिन अघि (२०८२ फागुन ०४ गते) देखि मात्र निर्वाचन आचारसहिंताको दफा १३ मा उल्लेखित मापदण्ड भित्र रही निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्न सक्ने सूचनामा जनाइएको छ।
राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले प्रचलित कानून र आचार संहिता विपरीत पोष्टर, भित्तेलेखन, तुल व्यानर, डिजिटल डिस्प्ले प्रयोग गर्न नहुने आचारसंहितामा उल्लेख छ। प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जना भन्दा बढीको जुलूस लिएर जान मिल्दैन। साथै यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने जनाइएको छ। उम्मेदवार वा दलको कार्यालयमा साईन बोर्ड तथा कपडामा बनाईएको ३÷४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्ने बाहेक दलको प्रचार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामाग्री बजाउन र श्रव्य दृश्य सामाग्रीहरु प्रदर्शन वा प्रसारण गर्न पाईने छैन आचार संहितामा लेखिएको छ।
कुनै पनि साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार प्रसार गर्न वा मत माग्न नहुने जनाइएको छ। दल वा उम्मेदवारले जुलूस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको -याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचार प्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन हुँदैन आचार संहितामा भनिएको छ। उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास वा धम्की दिन नहुने जनाइएको छ। निर्वाचन प्रयोजनका लागि ७५ ग्राम सम्मको कागजमा ३०० वर्ग ईन्च सम्म क्षेत्रफल भएको आकारको एउटै रंग र मुद्रकको नाम सहितको पर्चा मात्र प्रयोग गर्न पाईनेछ।
जुलूस, आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासनको अनुमति लिई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगावै स्थानीय प्रहरीलाई जानकारी गराउनु पर्नेछ। एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलूस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न हुँदैन। त्यस्तो अवस्थामा स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गर्नु पर्नेछ।
जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न हुँदैन । धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता स्थान वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्नु हुँदैन। विना स्वीकृति राजनीतिक दलको कार्यालयमा वाहेक अन्य कुनै पनि स्थानमा दलको झण्डा राख्न पाईने छैन।
जेष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिहरुको भावना, ईज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउनसक्ने कुनै किसिमका प्रचार प्रसार गर्न हुदैन।आयोगले तोके बमोजिक बढीमा २ (दुई) वटा दुई प्राङ्ग्रे वा तिन प्राङ्ग्रे वा चार प्राङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन चल्न नसक्ने ठाउँमा बढीमा चार वटा घोडाको प्रयोग गर्न सक्ने तर विदेशी नम्बर प्लेटको सवारी सधान प्रयोग गर्न पाईने छैन। सरकारी/अर्धसरकारी/संस्थान/विद्यालयको भवन तथा क्षेत्र (जग्गा) प्रयोग गरी निर्वाचन सम्बन्धी भेला कार्यक्रम वा प्रचारप्रसार गर्न गराउन पाईने छैन।
सम्बद्ध व्यक्तिले निर्वाचन आचारसंहिता, २०८२ अध्ययन गरी पूर्ण जानकारी लिन साथै आचारसंहिताको पूर्णरुपमा परिपालना गर्नुहुन सूचनामा भनिएको छ। कुनै द्विविधा भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र आचारसंहिता अनुगमन अधिकृतसँग सम्पर्क गर्न सक्ने जनाइएको छ। राष्ट्रिय झण्डा प्रयोग सम्बन्धमा गृह मन्त्रालयको माघ ११ गतेको प्रेस विज्ञप्ति बमोजिम पालना गर्नु/गराउनु हुन भनिएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचार संहिता अनुगमन अधिकृत प्रतिनिधि सभा सदस्य निर्वाचनका छविरमण भट्टराईले आचारसंहिता पालन गर्न सूचनामा आग्रह गरेका हुन्।

