बारा । बारा जिल्लाका विभिन्न स्थानमा सिँचाइ प्रयोजनका लागि अनधिकृत रूपमा विद्युत चोरी गरी सञ्चालनमा ल्याइएका १८ थान विद्युत मोटर बरामद गरिएको छ।
नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको विद्युत चुहावट नियन्त्रण टोली र सुरक्षाकर्मीको संयुक्त टोलीले आज १ एच.पी.का १५ थान, २ एच.पी.का २ थान र हाफ एच.पी.को १ थान मोटर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका मोटरका धनीहरूले सम्पर्क गरेमा जरिवाना लिएर फिर्ता दिइनेछ, अन्यथा जफत गरिने प्राधिकरणका सुपरभाइजर दिपेन्द्र कुमार साहले जानकारी दिएका छन्। उनका अनुसार यस प्रकारका अनुगमन कार्यलाई निरन्तरता दिइनेछ।

