कलैया । बाराको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शुल्कमा एकरुपता ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवका अनुसार नगरभित्रका निजी विद्यालयहरूले लिने शुल्कमा देखिएको भिन्नतालाई व्यवस्थित गर्न गृहकार्य सुरु गरिएको हो।
यसै सन्दर्भमा शुल्क निर्धारण समितिको बैठक भोलि बुधबार बिहान ११ बजे आह्वान गरिएको छ। बैठकमा सरोकारवाला निकाय, विद्यालय सञ्चालकका प्रतिनिधि, शिक्षाका अगुवा तथा अभिभावकहरूको सहभागिता रहने जनाइएको छ।
महाशाखा प्रमुख यादवले अभिभावकहरूको गुनासो तथा प्रचलित शिक्षा नियमावलीलाई ध्यानमा राख्दै विद्यालयहरूको वर्गीकरण र उपलब्ध सुविधाका आधारमा न्यायोचित शुल्क निर्धारण गरिने जानकारी दिए।
उनका अनुसार जथाभावी शुल्क लिने परिपाटीलाई निरुत्साहित गर्दै शिक्षा क्षेत्रलाई थप पारदर्शी र मर्यादित बनाउन यो पहल गरिएको हो।
उक्त बैठकबाट शुल्कको सीमा र मापदण्ड तय हुने अपेक्षा गरिएको छ। निर्णय कार्यान्वयनमा आएपछि कलैयाका हजारौँ विद्यार्थी र अभिभावक लाभान्वित हुने विश्वास गरिएको छ।
उपमहानगरपालिकाले शिक्षाको गुणस्तर सुधारसँगै शुल्क व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर अघि बढेको प्रमुख यादवले स्पष्ट पारे।

