Sajhedari Daily
Latest News from Nepal

सरसफाईमा उपमहानगर जिम्मेवार बनोस्

बाराका सदरमुकाम कलैयालाई सफा र सुन्दर नगर बनाउने भन्दै फेरी सफाई अभियान शुरु गरिएको छ । कलैया नगरका बजार क्षेत्रमा अतिक्रमण गरेर गरिदै आएका व्यपार, व्यवसाय तथा फुडपातमा राखिएका ठेला, गुम्तीहरुलाई हटाउने अभियान फेरी चलाईएको हो । कलैया उपमहानगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बारा उद्योग वाणिज्य संघको संयुक्त रुपमा बुधवारदेखी उक्त सफाई अभियान शुरु गरिएको छ ।

सफाई अभियानका टोलीले बजार क्षेत्रमा फुटपातमा रहेको पसल तथा ठेला हटाउन निर्देशन दिएको र सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरुलाई हटाउन निर्देशन समेत दिईएको थियो । टोलीले जथाभावी फालिएको फोहोरहरु संकलन गर्ने कार्य समेत गरेको थियो । सफाई अभियानका क्रममा अनुगमन टोलीले निर्देशन पालना नगरी अटेर गरे कारवाही गरिने बताईएको थियो ।

जिल्लाको मुख्य ठाउ जुन सदरमुकाम समेत रहेको कलैया बजार अव्यवस्थीत पार्किङ्ग र सडक पेटी अतिक्रमण गरेर पसलेहरुले व्यापार गर्ने, सडक पेटीमै ठेला, घुम्ती राखेर व्यवसाय गर्ने र फोहोर मैलाको डंगुर हुदा कलैयाको मुहार कुरुप नै बनेको छ । त्यसका साथै नगर क्षेत्रका घरधनीहरुले पनि सडकमै जथाभावी निर्माण समाग्रीहरु राखिदिदाँ अझै कलैया बजार कुरुप बनेको हो । अझ कलैया उपमहानगरपालिकाले दैनिक रुपमा गर्नुपर्ने सरसफाई र फोहर उठाउने काम नगर्दा दुर्घन्धीत नगर बन्दै गईरहेको छ ।

बुधवारदेखी उपमहानगरपालिकाकै अगुवाईमा अतिक्रमण हटाउन र सफाई गर्ने अभियान थालेको छ । हुन त नगरपालिका लगायत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतकाले यसअघि पनि पटक पटक विभिन्न चरणमा सरसफाई अभियान थालेको थियो तर अभियानको केही दिनमात्र सरससफाई भएजस्तो देखिए पनि फेरी अवस्था उस्तै हुन्छ । जसलाई नगरवासीले नाटकीय अभियान हो भन्न थालेका छन । उपमहानगरपालिका सहितका सरोकारवालहरुले थालेको स्वच्छ र सफा नगर बनाउने सफाई अभियान वास्तविक अभियान बनोस् र कलैया नगर वास्तवमै सफा र स्वच्छ बनाउन उपमहानगरपालिका जिम्मेवार बनोस् ।