सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयमा भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने प्रहरीसहित १६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कप्तानगञ्ज र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


