विद्यालय सुधारमा जीतपुरसिमराको कडा एक्सन,व्यवस्थापन समिति र प्रधानाध्यापक छनोट अनिवार्य

रञ्जन यादव
32 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक र प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ कदम चालेको छ। विद्यालय व्यवस्थापन समिति गठन र स्थायी प्रधानाध्यापक नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नभएका विद्यालयहरूले प्रचलित कानुनी व्यवस्था अनुरूप प्रक्रिया पूरा गरी आगामी भदौ १० गतेभित्र विवरण उपमहानगरपालिकामा पेश गर्नुपर्नेछ। यो व्यवस्था स्थानीय शिक्षा ऐन, २०७५ (पहिलो संशोधन–२०८३) तथा शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) अनुसार कार्यान्वयन गर्न भनिएको छ।

उपमहानगरपालिकाले तोकिएको अवधिभित्र समिति गठन नगर्ने विद्यालयमाथि कडा प्रशासनिक कदम चाल्ने संकेत पनि दिएको छ। समयसीमा उल्लंघन गर्ने विद्यालयलाई उपलब्ध गराइने बजेट तथा अन्य सेवा–सुविधाको निकासा रोक्न सकिने चेतावनी पत्रमार्फत दिइएको छ।

यसैबीच, निमित्त प्रधानाध्यापकको नेतृत्वमा सञ्चालन भइरहेका विद्यालयमा स्थायी प्रधानाध्यापक छनोट प्रक्रिया पनि अब ढिलाइ नगर्न भनिएको छ। साउन २२ गते जारी अर्को निर्देशनमा शिक्षा नियमावली, २०५९ को नियम ९३ बमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रधानाध्यापक नियुक्तिको काम तत्काल सुरु गर्न आग्रह गरिएको छ।

उपसचिव (दसौँ तह) शिवजी प्रसादको हस्ताक्षरमा जारी दुवै निर्देशनको प्रतिलिपि उपमहानगरपालिकाका सबै २४ वडा कार्यालय, सूचना तथा प्रविधि शाखा तथा सम्बन्धित विद्यालय व्यवस्थापन समितिहरूलाई समेत पठाइएको छ। उपमहानगरपालिकाले विद्यालय प्रशासनलाई कानुनी ढाँचाभित्र सञ्चालन गर्दै व्यवस्थापनलाई थप उत्तरदायी बनाउने उद्देश्यले यी निर्देशन जारी गरेको जनाएको छ।

Leave a review

This will close in 0 seconds