जीतपुरमा गाँजाजस्तो पदार्थसहित एक जना पक्राउ

साझेदारी डेलि
26 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित शान्ति टोलबाट प्रहरीले गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय वीरेन्द्र बैठा रहेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा आइतबार दिउँसो करिब ३ बजे बैठाको घरमा खानतलासी गरिएको थियो। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा गएको टोलीले घरको आँगनमा राखिएको अवस्थामा उक्त पदार्थ फेला पारेको जनाएको छ।

प्रहरीले ७० वटा पुडियामा राखिएको ३८६ ग्राम तथा कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ३५० ग्राम गरी कुल १ किलो ७४४ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
बरामद पदार्थसहित बैठालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ। घटनास्थल प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ।

पक्राउ परेका बैठामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद पदार्थको परीक्षणपछि मात्रै त्यसको वास्तविक प्रकृति यकिन हुने प्रहरीले बताएको छ।

Leave a review