रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले फेला पारेर नियन्त्रणमा लिएको मोटरसाइकल वास्तविक धनीलाई हस्तान्तरण गरेको छ।
कार्यालयले गत श्रावण २७ गते फेला पारी नियन्त्रणमा लिएको मोटरसाइकल खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ निवासी गौधन राईलाई हस्तान्तरण गरेको हो।
राईले आफ्नो मोटरसाइकल हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा खोजी तथा अनुसन्धानका क्रममा रौतहटमा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।
सवारीसाधनको आवश्यक कागजात तथा स्वामित्व पुष्टि हुने प्रमाण जाँच गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले मोटरसाइकल राईलाई हस्तान्तरण गरेका हुन्।
प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजीलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका ट्राफिक प्रहरी कार्यालयबीच समन्वय गर्दै आएको जनाएको छ।


