कलैया । एनआईएमबी बैंक लिमिटेडमा खातावालाको अनुमति र हस्ताक्षरबिनै चेकबुक जारी तथा रकम कारोबार भएको आरोप एकपछि अर्को सार्वजनिक हुन थालेपछि बैंकको आन्तरिक नियन्त्रण र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।
बैंकका कलैया र वीरगन्ज शाखासँग सम्बन्धित दुई छुट्टाछुट्टै घटनामा खातावालाले आफ्नो जानकारी तथा अनुमतिबिनै चेकबुक जारी गरिएको र नक्कली हस्ताक्षर प्रयोग भएको आरोप लगाएका छन्। तीमध्ये एक घटनामा खाताबाट रु. ४ लाख ९९ हजारसमेत निकालिएको दाबी गरिएको छ।
कलैया शाखाका खातावाला नन्देश राउतले आफ्नो अनुमति तथा वास्तविक हस्ताक्षरबिनै चेकबुक जारी गरी नक्कली हस्ताक्षर प्रयोग गरेर खाताबाट रु.४ लाख ९९ हजार निकालिएको दाबी गर्दै बैंकमा निवेदन दिएका छन्।

राउतले २०८३ भदौ १७ गते कलैया शाखाका प्रबन्धक परमेश्वर प्रसाद साहसमक्ष निवेदन दर्ता गराउँदै आफ्नो जानकारीबिनै जनवरी २६ मा चेकमार्फत रकम झिकिएको बताएका छन्। रकम निकाल्न प्रयोग गरिएको चेक आफूले जारी नगरेको र त्यसमा गरिएको हस्ताक्षर पनि आफ्नो वास्तविक हस्ताक्षर नभएको उनको दाबी छ।
राउतका अनुसार उनको अनुमति तथा जानकारीबिनै पाँचवटा नयाँ चेक जारी तथा प्रयोग गरिएको छ। उनले बैंकका कर्मचारीको सम्भावित संलग्नतामाथि समेत प्रश्न उठाउँदै उक्त चेक, भुक्तानी भौचर, हस्ताक्षर नमुना, सीसीटीभी फुटेज तथा बैंकिङ प्रणालीमा रहेका ट्रान्जेक्सन विवरण सुरक्षित राखी निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
उनले नक्कली चेक तथा हस्ताक्षरको फरेन्सिक परीक्षण गराउन, कर्मचारीको संलग्नता पुष्टि भए सम्बन्धितमाथि बैंकको नियम तथा प्रचलित कानुनअनुसार कारबाही गर्न र अनुसन्धानको लिखित प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन्। राउतका अनुसार बैंकमा निवेदन परेपछि भदौ १८ गते रु. २ लाख फिर्ता गरिएको छ। तर बाँकी रु. २ लाख ९९ हजार अझै प्राप्त हुन नसकेको उनको भनाइ छ।
एनआईएमबी बैंक वीरगन्ज शाखामा पनि उस्तै आरोप राउतको घटना सार्वजनिक भइरहेका बेला बैंकको वीरगन्ज शाखासँग सम्बन्धित अर्को गम्भीर आरोप पनि बाहिर आएको छ।
बाराको कलैया उपमहानगरपालिका–२ का रामजी मण्डल महतोले आफ्नो जानकारी तथा अनुमतिबिना एनआईएमबी बैंकको वीरगन्ज शाखाबाट आफ्नो नाममा १० पानाको चेकबुक जारी गरिएको आरोप लगाउँदै कलैया शाखाका प्रबन्धक परमेश्वर प्रसाद साहलाई निवेदन दिएका छन्।

महतोले २०८३ भदौ ९ गते अर्थात् २५ अगस्त २०२६ मा वीरगन्ज शाखाबाट आफ्नो नाममा चेकबुक निकालिएको दाबी गरेका छन्। चेकबुक निकाल्ने प्रक्रियामा प्रयोग भएको कागजातमा आफ्नो कुनै संलग्नता नरहेको र प्रयोग गरिएको हस्ताक्षर पनि आफ्नो वास्तविक हस्ताक्षर नभएको उनको दाबी छ।
सामाजिक सञ्जालमा नक्कली चेक तथा हस्ताक्षर दुरुपयोगसम्बन्धी घटना देखेपछि आफ्नो खाताको विवरण जाँच गर्ने क्रममा चेकबुक जारी भएको जानकारी पाएको महतोले बताएका छन्।
महतोले चेकबुक माग फारम, हस्ताक्षर तथा खातासम्बन्धी नमुना, सीसीटीभी फुटेज र बैंकिङ प्रणालीमा रहेका अभिलेख तत्काल सुरक्षित राख्न तथा चेकबुक कसरी, कसको स्वीकृतिमा र कुन प्रक्रियाबाट जारी भयो भन्ने विषयमा छानबिन गर्न निवेदन दर्ता गरी माग गरेका छन्।
उनले घटनामा बैंकका कर्मचारीको संलग्नता देखिए सम्बन्धित कर्मचारीमाथि कारबाही गर्न, जारी भएको चेकबुकको सम्पूर्ण विवरण उपलब्ध गराउन र छानबिनको लिखित प्रतिवेदन दिनसमेत माग गरेका छन्।
एउटै बैंक, दुई शाखा, उस्तै प्रश्न
कलैया शाखामा खाताबाट रु.४ लाख ९९ हजार रकम नक्कली चेकमार्फत निकालिएको आरोप र वीरगन्ज शाखाबाट खातावालाको अनुमतिबिनै १० पानाको चेकबुक जारी भएको अर्को आरोपले बैंकको चेक जारी गर्ने प्रक्रिया, हस्ताक्षर प्रमाणीकरण र आन्तरिक निगरानी प्रणाली कति प्रभावकारी छ? भन्ने प्रश्न उठाएको छ ।
दुई घटनामा खातावालाले आफ्नो अनुमति र वास्तविक हस्ताक्षर प्रयोग नभएको दाबी गरेका छन्। एउटा घटनामा रकमसमेत बाहिरिएको दाबी छ भने अर्को घटनामा चेकबुक नै खातावालाको जानकारीबिनै जारी भएको आरोप छ।
यदि यी आरोप अनुसन्धानबाट पुष्टि भएमा विषय ग्राहक र बैंकबीचको सामान्य विवादमा सीमित रहने छैन। यो बैंकिङ प्रणालीको सुरक्षा, ग्राहकको निक्षेपको संरक्षण र आन्तरिक नियन्त्रण संयन्त्रसँग जोडिएको गम्भीर प्रश्न बन्नेछ ।
बैंकको जवाफ फरक–फरक
कलैया शाखाका प्रबन्धक परमेश्वर प्रसाद साहले नन्देश राउतले निवेदन दिएको स्वीकार गर्दै घटनामा बैंकका कर्मचारीको कुनै मिलेमतो नरहेको दाबी गरेका छन्।
उनका अनुसार, “एक जना बदमास थियो, तर बैंकले उसमाथि कारबाही गरिसकेको छ।” यद्यपि बैंकले ती व्यक्तिमाथि कस्तो कारबाही गरेको हो र घटनामा बैंकको आन्तरिक प्रणाली कसरी प्रयोग भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।
उता रामजी मण्डल महतोको निवेदनबारे शाखा प्रबन्धक साहले निवेदन प्राप्त गरी सम्बन्धित वीरगन्ज शाखामा पठाइसकेको र घटनासम्बन्धी छानबिन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
अब दुवै घटनामा विवादित चेक तथा हस्ताक्षरको फरेन्सिक परीक्षण, चेकबुक जारी प्रक्रियाको अनुसन्धान, सीसीटीभी र बैंकिङ प्रणालीका अभिलेखको परीक्षण तथा रकम भुक्तानीको वास्तविक प्रक्रिया सार्वजनिक गर्नु आवश्यक देखिएको छ।
खातावालाको अनुमतिबिनै चेकबुक जारी भएको र नक्कली हस्ताक्षरबाट कारोबार भएको आरोप एकपछि अर्को सार्वजनिक भइरहँदा बैंकले “कर्मचारीको मिलेमतो छैन” भन्ने दाबी मात्र गरेर उम्कनेभन्दा घटनाको सम्पूर्ण तथ्य सार्वजनिक गरी ग्राहकको विश्वास कायम गर्नुपर्ने दबाब बढेको छ।


