निजगढ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजगढ नगरपालिकाले ४० लाख ४० हजार ४ सय ४० रुपैयाँ उपलब्ध गराउने भएको छ।
विपद्मा परेका परिवारलाई राहत पुर्याउने उद्देश्यले नगरपालिकाले जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको सेवा–सुविधाबाट रकम संकलन गर्ने निर्णय गरेको हो। संकलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत रकम थप गरिने जनाइएको छ।
निजगढ नगरपालिकाका मेयर सुरथ पुरीका अनुसार जनप्रतिनिधिको १० दिन बराबरको सेवा–सुविधा तथा शिक्षक र कर्मचारीको २ देखि ७ दिनसम्मको सेवा–सुविधाबाट सहयोग रकम जुटाइनेछ। यसरी संकलन हुने रकम र विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइने रकम गरी कुल ४० लाख ४० हजार ४ सय ४० रुपैयाँ सहयोग गरिने निर्णय भएको हो।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले विपद्को घडीमा प्रभावित परिवारलाई स्थानीय तहको तर्फबाट सहयोग गर्नु आवश्यक ठानेर निर्णय गरिएको मेयर पुरीले बताए।
नगरपालिकाका अनुसार सहयोगस्वरूप संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। सोही कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ।


