बारा । बाराको देवताल गाउँपालिका-३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहाको बिहीबार अन्त्येष्टि गरिएको छ।
बडकी आमवास्थित पसाहा खोला आर्यघाटमा आयोजित अन्त्येष्टिमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा बारा-१ (ख) का प्रदेशसभा सदस्य सरोज यादव, बारा-३ का पूर्वसांसद रामबाबु कुमार यादव, बारा-२ (ख) का प्रदेशसभा सदस्य बच्चा प्रसाद यादव, देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादव, जसपा नेपालका नेता रामकिशोर यादव लगायतले कुशवाहाको पार्थिव शरीरमा राष्ट्रिय तथा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
आर्यघाटमा गाउँपालिकाका वडाध्यक्षहरू, स्थानीयवासी, राजनीतिक दलका नेता, समाजसेवी तथा सशस्त्र प्रहरीलगायतको उपस्थिति थियो।
यसैबीच, वडाध्यक्ष कुशवाहाको निधनको शोकमा देवताल गाउँपालिकाले बिहीबार गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवाबाहेक) तथा गाउँपालिकाअन्तर्गतका शैक्षिक संस्थामा शोक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवद्वारा जारी शोक वक्तव्यमा कुशवाहाको असामयिक निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।
कुशवाहाको असोज ७ गते उपचारका क्रममा निधन भएको थियो। उनलाई असोज ३ गते शनिबार मस्तिष्कघात भएपछि उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो एण्ड जेनेरल हस्पिटलमा भर्ना गरिएको थियो।

