सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम गाँजासहित कार चालक पक्राउ परेका छन्।
शुक्रबार बिहान करिब ९ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो।
कारलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा रातो प्लास्टिकले बेरी लुकाइछिपाई राखिएको अवस्थामा १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजा बरामद भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ निवासी २८ वर्षीय अम्बिर डिम्डुङलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको कार, बरामद गाँजा र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


