रास्वपाले उम्मेदवार छनोटमा सामाजिक व्यक्तिलाई प्राथमिकता दिने

साझेदारी डेलि
39 पाठक संख्या

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा शैक्षिक प्रमाणपत्रभन्दा सामाजिक अनुभव र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत बुधबार कलैयामा आयोजित कार्यक्रममा नेता दीपककुमार साहले समाज बुझेका र जनताका बीचमा रहेर काम गरेका व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउनुपर्ने बताए।

बारा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा साहले औपचारिक शैक्षिक योग्यता मात्रै व्यक्तिको क्षमता मापन गर्ने आधार हुन नसक्ने धारणा राखे। समाजको अवस्था बुझ्ने, जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने र स्थानीय समस्या समाधानमा योगदान गरेका व्यक्तिको भूमिकालाई पनि मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।

उनले उम्मेदवार छनोटमा सामाजिक अवस्था र स्थानीय समुदायको आवश्यकताबारे बुझाइ महत्वपूर्ण हुने बताए। कलैयाका जनताले विश्वास गरेको र समाजमा योगदान पु¥याएको व्यक्तिलाई उम्मेदवार बन्नबाट रोक्न नसकिने उल्लेख गर्दै साहले पार्टीका पुराना कार्यकर्ताको योगदान र कामको समेत मूल्यांकन गर्नुपर्ने बताए।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर सभापति बब्लु गिरिले स्थानीय निर्वाचनका लागि ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवारी प्रक्रिया अघि बढाइने जानकारी दिए। उम्मेदवारीका विषयमा विभिन्न किसिमका भ्रम फैलाइएको भन्दै उनले त्यसको पछि नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा स्थानीय तहको निर्वाचन, उम्मेदवार छनोटको मापदण्ड तथा ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवारी प्रक्रियाबारे छलफल गरिएको थियो।

नगर सभापति गिरिको अध्यक्षतामा भएको कार्यक्रममा डा. सुशील साह, उमाशंकर रौनियार, नगर उपसभापति अजय साह, नगर सचिव विजय जयसवालसहित विभिन्न वडाका सभापति, पदाधिकारी तथा नेता–कार्यकर्ताको सहभागिता थियो।

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत नेता साहले देवताल र सुवर्ण गाउँपालिकालगायत बाराका विभिन्न स्थानीय तहमा पुगेर स्थानीय निर्वाचनको तयारी तथा उम्मेदवार छनोटका विषयमा छलफलसमेत गरेका छन्।

Leave a review