गणपूरक नपुगेपछि विद्यालय व्यवस्थापन समिति गठन रोकियो

रञ्जन यादव
25 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेला गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।

समिति गठनका लागि कुल अभिभावकको कम्तीमा २५ प्रतिशत उपस्थित हुनुपर्ने भए पनि आवश्यक संख्या नपुगेपछि भेला स्थगित गरिएको प्रधानाध्यापक राजुकुमार सिंहले जानकारी दिए। अर्को सूचना जारी नभएसम्म प्रक्रिया रोकिएको उनले बताए।

विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुने र व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य बन्न कक्षा १२ उत्तीर्ण अभिभावक हुनुपर्ने प्रावधान रहेकाले पनि अपेक्षित सहभागिता जुटाउन कठिनाइ भएको जनाइएको छ।

विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी व्यवस्थाअनुसार विद्यार्थीका अभिभावकमध्ये चार जना सदस्य रहने र उनीहरूमध्येबाट अध्यक्ष चयन गर्ने प्रावधान छ। भेलामा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले विद्यालय सुधारका लागि अभिभावक, शिक्षक र समुदायबीच समन्वय आवश्यक रहेको बताए।

उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख शिवजी साहले कानुनी प्रक्रिया पूरा गरी पर्याप्त अभिभावक सहभागितामा समिति गठन गर्नुपर्ने बताए। कार्यक्रममा वडा अध्यक्ष सुनिल गुप्तासहित जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीयको सहभागिता थियो।

Leave a review