बारा । बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार साँझ करिब ६ः४५ बजे सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा सिम्रौनगढबाट कचोर्वातर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०५ एएफ०१४० नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा साइकलमा सवार सिम्रौनगढ नगरपालिका–६ मा बस्ने अन्दाजी ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै दुर्घटनामा साइकल चालक रिजवनाका श्रीमान् करिब ४० वर्षीय सबु मोहम्मद घाइते भएका छन्। उनको टाउको र निधारमा चोट लागेको छ। कलैयास्थित प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी बिगु महतोका अन्दाजी २५ वर्षीय छोरा अजय महतो र मोटरसाइकलमा सवार अन्दाजी २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। दुवैको टाउको, नाक र कानमा चोट लागेको छ। उनीहरूलाई कलैयास्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगञ्ज रिफर गरिएको छ।
दुर्घटनापछि प्रहरी चौकी कचोर्वाबाट प्रहरी हवल्दार शलेन्द्र प्रसाद यादव र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


