Sajhedari Daily
Latest News from Nepal

बाराका ३ र रौतहटका एक गरि ४ कोरोना संक्रमितहरुको मृत्यु

पर्सा स्थित वीरगञ्जको बिभिन्न अस्पतालमा उपचारत रहेका ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा बाराका ३ जना र रौतहट जिल्लामा एक जना रहेका छन ।

बाराको विश्रामपुर गाउँपालिका ५ निवासी ४५ बर्षका पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।उनको वीरगञ्जको नारायणी अस्पतालमा बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन । उनमा गत बैशाख २२ गते कोरोना पुष्टि भएको थियो ।

यसैगरी बाराकै महागढीमाई नगरपालिका ८ धर्मपुर बस्ने ५६ बर्षिय संक्रमित महिलाको पनि मृृत्यु भएको छ । श्वास प्रश्वास समस्या भई उपचारको लागी वीरगञ्जको भवानी हस्पीटलमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा शुक्रबार राति सवा ९ बजे मृत्यु भएको प्रहरी प्रबक्ता मिश्रले बताए ।

मृतक महिलामा गत बिहीबार कोरोना पुष्टि भएको थियो । यसैगरि जिल्लाकै जीतपुरसिमरा उपमहानगरपालिका २ का ५५ बषका संक्रमित पुरुषको पनि मृत्यु भएको छ । संक्रमित पुरुषको शुक्रबार राति १० बजे उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

यस्तै रौतहटका एक कोरोना संक्रमित पुरुषको पनि शनिबार मृत्यु भएको छ । रौतहटको र्सिसिया निवासी ५५ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड सँयोजक डा. दासले बताए । ती पुरुषको शनिबार बिहान पौने १२ बजे मृत्यु भएको उनले बताए ।

गत बैशाख २१ गते एन्टिजेन परिक्षण गर्दा ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलि पल्ट उनी उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका थिए ।

Comments are closed.