Sajhedari Daily
Latest News from Nepal

निजगढलाई प्रचलित कानूनको अधीनमा रहेर ठेक्का अघि बढाउन समन्वय समितिको निणर्य

कलैया, ६ असोज
जिल्ला समन्वय समिति बाराले निजगढ नगरपालिकालाई नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्न सहमति दिएको छ ।
समितिका प्रमुख नवल किशोर सिंहको अध्यक्षतामा बुधवार बसेको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति वैठकले निजगढ नगरपालिकालाई नदीजन्य उत्खनन गर्न सहमति दिने निणर्य गरेको हो ।
निजगढ नगरपालिकाले आ.ब. २०७८÷०७९ का धन्सार, बगर, बकैया, लाल÷भक्तलाल र शक्ति खोलाबाट ढुंगा, ग्राभेल, बालुवा उत्खनन् तथा निकासीका ठेक्का लगाएको थियो । तर डिभिजन बन कार्यालयले मापदण्ड पुरा नगरी नगरपालिकाले ठेक्का लगाएको भन्दै रोक लगाएको थियो ।
समन्वय समितिले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, खुमलटार, ललितपुरको मिति २०६८ भदौ २४ गतेको पत्रानुसार निजगढ नपालाई सो नगरपालिका क्षेत्र भित्र पर्ने धन्सार, बगर, बकैया, लाल÷भक्तलाल र शक्ति खोलाबाट ढुंगा, ग्राभेल, बालुवा उत्खनन् गर्न दिएको सहमति दिने निणर्य गरेको समितिका एक सदस्यले जानकारी गराएका छन ।
स्थानीय सरकार संचालन ऐन, २०७४, वन ऐन, २०७६, ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७, प्रचलित स्थानीय कानून तथा प्रचलित अन्य ऐन, कानून, नियम बमोजिम उत्खनन्, संकलन तथा निकासी कार्य गर्न ठेक्का व्यवस्थापनको कार्यलाई प्रचलित कानूनको अधीनमा रही आवश्यक प्रक्रिया अघि बढाउन समेत समन्वय समितिले निजगढ नगरपालिकालाई आग्रह गरिएको छ ।

Comments are closed.

error: Content is protected !!