निजगढ
बाराको निजगढ नगरपालिकामा पनि बुधवारदेखी स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ ।
नगरपालिकाको सभाहलमा बुधबार सम्पन्न स्वास्थ्य बिमा दर्ता सहयोगीहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगरपालिकामा शिघ्र स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरिएको हो ।
निजगढका नगरप्रमुख सुरेश कुमार खनालको अध्यक्षतामा सभापतित्वमा सम्पन्न अन्तरक्रियामा सहभागी स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले बिमाको लागी आवश्यक प्रकृया अघि बढ्ने गरी काम गर्न आफुहरु तयार रहेको बताएका छन ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर खनालले स्वास्थ्य बिमा कार्यक्रम मार्फत नगर भित्रका नागरिकहरुको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताए । ज्येष्ठ नागरीकहरुलाई निशुल्क स्वास्थ्य बिमा गरिने र अन्य नागरीकहरुलाई पनि सहुलियत शुल्कमा बिमा गराईने हुँदा सम्पूर्ण नगरबासीहरुलाई स्वास्थ्य बिमा गरि लाभ लिन नगरप्रमुख खनालले आग्रह गरे ।
निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाका अनुसार बिमाको लागी आवश्यक तयारी पुरा हुने क्रम अन्तिम चरणमा रहेकोले आश्वीन महिनादेखि नै नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने लक्ष रहेको जनाए ।
कार्यक्रममा सहभागी भएका विमितहरुले औषधि र उपचार सेवामा सहुलियत पाउनेछन । ५ जना सम्मको परिवार भएको विमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउने नगरपालिकाले जनाएको छन ।

