बारा ४ मा श्रेष्ठ, मियाँ र वाग्लेवीच त्रिपक्षीय कडा प्रतिस्पर्धा

साझेदारी दैनिक
489 पाठक संख्या

एल खरेल,सिमरा/
श्रेष्ठ, मियाँ र वाग्लेबीच बारा ४ मा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

जिल्लामा चारवटा निर्वाचन क्षेत्रबाट चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमध्ये क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीसहित तीन जना प्रतिस्पर्धामा छन् ।

स्थायी घर तनहुँ भएका पूर्व श्रममन्त्री नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) अहिले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । त्यस्तै जसपाबाट ०७४ को निर्वाचनमा विजयी भएका एकवाल मियाँ पार्टी परित्याग गरी पुनः नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

यता सत्ता गठबन्धन नरुचाएर वागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका इच्छाबहादुर वाग्लेको अवस्था अन्य स्वतन्त्र उम्मेदवारमध्ये बलियो देखिएको छ । यसर्थ मंसिर ४ मा हुने निर्वाचन श्रेष्ठ, मियाँ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।

आफ्नो प्रतिद्धन्दी नै नरहेको दावी गर्ने गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले भौतिक पूर्वाधार विकासका सपना बाँडेका छन् । चुनावी घरदैलो अभियानका क्रममा उनले हरेक गाउँपालिका र उपमहानगरपालिकाका सबै वडाहरूलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाउने गरेका छन् । उनले आफुले जिते राष्ट्रिय गौरवका योजनाहरू सम्पन्न तथा यथाशिघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा, स्वास्थ, यातायात, भौतिक पुर्वाधार, सुकुम्बासी समस्या समाधान, पर्यटन प्रवद्र्धन, खेलकुद, चुरे तथा नदी नियन्त्रण लगायतका एजेण्डा लिएर घरदैलोमा व्यस्त नेकपा एमालेका एकवाल मियाँ चुनावी दौडमा व्यस्त छन् । मन्त्री बन्दा समेत खासै देखिने खालका काम नगरेको आरोपका विच रुमल्लिएको मियाँले मुस्लिमको बाहुल्यता भएको क्षेत्र नम्बर ४ मा आफुलाई जित्न कसैले नरोक्ने दावि गरेका छन् । ०७४ को निर्वाचनमा विश्वास गरेकाहरुले अहिले पनि आफुलाई जिताउने र विकासको लहर ल्याउन बाटो खोल्नेमा आफु ढुक्क रहेको उनले बताएका छन् ।

आफ्नो स्वतन्त्र उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताउने इच्छा बहादुर वाग्लेको अवस्था स्वतन्त्र मध्ये राम्रो देखिएको छ । निजि क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना समेत गर्न नसकिने बताउँदै उनले आफ्नो जितबाट मात्रै निजि क्षेत्रको लगानी सम्भव भएको दावाका साथ आर्थिक विकास, समुन्नती र भ्रष्टाचारको अन्त्य गरेर देशको विकास गर्नका लागि आफू अघि बढेको उनले बताएका छन् ।

जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थितीका विच विचार नै नमिलेका दलहरुले चुनावका लागि मात्रै गठबन्धन गर्नु भनेको सत्तामा पुग्ने फोहोरी खेल मात्रै भएको वाग्लेको दावी छ ।

गठबन्धनका कारण अस्तित्व नै समाप्त हुने गरी बारा ४ मा कांग्रेस उम्मेदवार विहिन भएको भन्दै रुष्ट बनेकाहरुको नेतृत्व गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका वाग्लेको पक्षमा केही कांग्रेसका कार्यकर्ताहरु खुलेर लाग्न थालेका छन् । आ–आफ्ना जितका दावि प्रस्तुत गरिरहेका तिनैजना प्रतिस्पर्धी मध्ये क्षेत्र नं. ४ का वासिन्दाले कस्लाई रोज्छन् त्यो भने हेर्न बाँकी नै छ ।

Leave a review

This will close in 0 seconds