प्रेस युनियनले नेपाल पत्रकार महासंघको बारा शाखामा गर्‍यो तालाबन्दी

संदिप प्रसाद यादव
696 पाठक संख्या

नेपाल प्रेस युनियन बाराले पत्रकार महासंघको बारा शाखामा तालाबन्दी गरेको छ ।

प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठको विशेष उपस्थितिमा तथा प्रेस युनियन बारा शाखाका अध्यक्ष श्यामबाबु प्रसाद यादवको नेतृत्वमा उक्त तालाबन्दी गरिएको हो ।

नेपाल पत्रकार महासंघ बारा शाखा र केन्द्रीय कार्यालयमा समेत सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरी अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेका प्रति नेपाल प्रेस यूनियन शाखा बाराले गम्भीर आपत्ति प्रकट गर्दै तालाबन्दी गरेको हो ।

पत्रकार महासंघ बाराले सदस्यता शुद्धिकरणको नाममा अधिकांश यूनियनका क्रियाशिल पत्रकार सदस्यहरुलाई हटाएर सार्वजनिक गरेको नामावली स्वीकार्य नरहेको युनियनले जनाएको छ । शाखाबाट नवीकरणका लागि सिफारिस नगरिएका सदस्यहरुले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिएपनि त्यसलाई नहेरी तथा उजुरी नदिएका केही सदस्यहरुलाई केन्द्रीय कार्यालयले एक पक्षीय रुपमा सदस्यता थप गरी निर्वाचन प्रक्रिया अघि बढाएकोले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस यूनियन शाखा बारा आन्दोलित भएको हो ।

महासंघकै शाखा र प्रदेश समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरुलाई हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस यूनियन शाखा बाराले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको स्पष्ट पारेको छ । यस्तो गम्भीर परिस्थतिमा महासंघको कुनै पनि निर्वाचन प्रक्रिया अगाडि नबढाउन महासंघको नेतृत्व र निर्वाचन समितिलाई प्रेस यूनियन बाराले चेतावनी दिएको छ ।

उक्त तालाबन्दीमा प्रेस युनियनका केन्द्रिय सदस्य अप्सरा पुडासैनी,मधेस प्रदेश सदस्य संजीव कुमार मिश्र,प्रदेशका सल्लाहकार सिकेन्द्र पासवान,पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेय,पत्रकार महासंघ बाराका पूर्व सचिव जयनारायण यादव,प्रेस युनियन बाराका सचिव राजेश कुशवाहा,कार्य समिति सदस्य सन्दिप प्रसाद यादव,निवेश तिमिल्सिना र शिवशंकर मिश्र लगायतको उपस्थिति रहेको थियो ।

Leave a review