जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाका दुई दिने नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस (नेपाल फानान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) सुरु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका,राष्ट्रिय सहकारी बैंक लिमिटेड सिमरा शाखा र सहकारीहरुको संयुक्त आयोजनामा शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यबाहक नगरप्रमुख तथा उपप्रमुख भोला प्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सहकारी ऐन २०७४ मा तथा प्रचलित कानुन बमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था अनुसार १० करोड भन्दा बढी र सय करोड भन्दा कम कारोबार गर्ने साना तथा मझौला सहकारी संघ,संस्थाहरुले अनिवार्य एनएफआरएस बमोजिमको ढाँचामा लेखापरिक्षण गराउनुपर्ने व्यवस्था अनुसार वित्तीय कारोबारलाई थप यथार्थपरक र स्पष्ट पार्न तालिमको आयोजना गरिएको छ ।
अन्तराष्ट्रियस्तरको प्रतिवेदन ढाँचा एनएफआरएस बमोजिम संस्थाको जोखिमलाई न्यूनीकरण गरी दिगो सहकारी संस्था विकासमा समेत टेवा पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको तालिमका साहयक प्रशिक्षक सि.ए. सरोज भट्टले जानकारी दिनुभयो ।
त्यस्तै तालिमका मुख्य प्रशिक्षक चार्टड एकाउन्टेन्टस् (सिए) महेश घिमिरे एनएफआरएस ढाँचाको सहजिकरण गर्दै एन एफ आर एसको ढाँचा विनाको लेखापरिक्षण प्रतिवेदन र एनएफआरएस अनुसारको लेखापरिक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थिर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया,लगानी सम्पत्ति,पट्टा तथा भाडा,सहुलियत दरमा प्रदान गरिएको कर्जा,कर्जा सम्बन्धी आम्दानी,कर्मचारी सुविधा,स्थगन लगायतको विषयमा प्रशिक्षण दिईरहेका छन् ।
तालिम कार्यक्रममा बिभिन्न सहकारी सहकारी संस्थाका सदस्य,संस्थाका व्यवस्थापक तथा लेखा अधिकृत गरी ४२ जनाको सहभागिता रहेको छ । तालिममा एनएफआरएस कार्यान्वयनमा लैजाने सन्दर्भमा हाल प्रचलनमा रहेको सहकारी लेखामान र एनएफआरएसमा देखिएका फरकहरूको बारेमा सिकाई एवम् अभ्यास समेत रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष बेनि तिमल्सिनाले जानकारी दिए ।
त्यस्तै तालिममा सहभागीहरुले तालिमबाट एन एफ आर एस ढाँचामा वित्तीय प्रतिवेदनलाई परिवर्तन गर्ने बारे प्रयोगात्मक सिकाइ हासिल हुने बिश्वास संगालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष तथा तालिम संयोजक निराजन थापाले ब्यक्त गरे ।
घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कोपिला सिम्खडाको अध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी सिमरा बैँकका ब्यवस्थापक चन्द्रमणि भट्टराईको बिशेष उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालन महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मुना खरेलले गर्नुभएको थियो ।


