ट्राफिक जनचेतना सप्ताह सम्बन्धी पत्रकार सम्मेलन

रञ्जन यादव
404 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह संचालन गर्ने भएको छ ।

जेठ ७ गतेदेखि शुरु हुने उक्त सडक सुरक्षा तथा ट्राफिक जनचेतना सम्बन्धी सप्ताह संचालन गर्न लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ ।

उपमहानगरले ट्राफिक नियम हाम्रो कर्तव्य,सुरक्षित सड्क हाम्रो अधिकार भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम संचालन गरिने उपमहानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कार्यक्रमका संयोजक तथा उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख अधिकृत पुष्पा सिंहले पत्रकार सम्मेलनमा कार्यक्रमको विस्तृत जानकारी दिइन्। नगर प्रमुख राजन पौडेलले पत्रकारहरूलाई ट्राफिक तथा सड्क सुरक्षासम्बन्धी समस्यामा कलम चलाउन र सम्बन्धित निकायलाई निरन्तर झकझकाउन आग्रह गरे ।

बिरगंज देखि पथलैया सड्क खण्डमा दुर्घटना न्युनिकरण तथा फुटपाथ,सर्भिस लेन र पार्किङ्ग ब्यवस्थापन गर्नु कार्यक्रमको मुल उदेश्य रहेको नगर प्रमुख पौडेलले बताए ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जीतपुरमा उद्घाटन कार्यक्रम हुनेछ। दोस्रो दिन परवानीपुरदेखि चुरियामाईसम्म ट्राफिक नियमसम्बन्धी बोर्ड जडान गरिनेछ।

तेस्रो दिन सिमरामा चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिनेछ भने चौथो दिन अम्लेखगञ्जमा ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी दिन ‘एक मिनेट कार्यक्रम’ अन्तर्गत चालक र यात्रुसँग प्रत्यक्ष संवाद गरिनेछ।

पाँचौँ दिन पथलैयामा सवारी यान्त्रिक परीक्षण र यात्रुबाहक गाडीहरूको अनुगमन गरिनेछ। छैटौँ दिन जीतपुरमा दुर्घटनाको समयमा मानिसको व्यवहार बुझ्न सडक नाटक प्रदर्शन गरिनेछ। सातौँ तथा अन्तिम दिन परवानीपुरमा कार्यक्रमको समापन गरिनेछ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं,परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुना साह,बारा जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक के.सी. जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउँन परवानीपुर गाउँपालिका,जिल्ला प्रशासन कार्यालय बारा,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया,जिल्ला ट्राफिक कार्यालय बारा,सड्क डिभिजन कार्यालय हेटौँडा,यातायात ब्यवस्था कार्यालय बारा र जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ सहयोगी संस्थाको भुमिकामा रहेको कार्यक्रम संयोजक अधिकृत सिँह बताएकी छिन ।

Leave a review

This will close in 0 seconds