निर्वाचन प्रहरी छनोट प्रक्रिया अन्तिम चरणमा : बारामा ६ हजार ४९४ जना लिखित परीक्षामा सहभागी

साझेदारी दैनिक
579 पाठक संख्या

कलैया :आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक निर्वाचन प्रहरी छनोट प्रक्रिया बारा जिल्लामा अन्तिम चरणमा तीव्र रूपमा अघि बढिरहेको छ। निर्वाचन प्रहरीका लागि दर्ता भएका हजारौँ युवाहरू छनोट प्रक्रियामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार निर्वाचन प्रहरीका लागि कुल ८ हजार ४३७ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक सहनशीलता एवं तन्दुरुस्ती परीक्षा उत्तीर्ण गर्ने ६ हजार ४९४ जना उम्मेदवार लिखित परीक्षामा सहभागी भएका हुन्। बाराका लागि माग गरिएको निर्वाचन प्रहरीको संख्या ४ हजार ३४ भए पनि अपेक्षाभन्दा धेरै युवाहरू छनोट प्रक्रियामा सहभागी भएका प्रहरीले जनाएको छ।

प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती परीक्षामा सफल उम्मेदवारहरूको लिखित परीक्षा शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणको परिसरमा शान्त र व्यवस्थित रूपमा सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरले जानकारी दिनुभयो।

प्रहरी उपरीक्षक कुवरका अनुसार लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्य जारी रहेको छ र एक–दुई दिनभित्रै नतिजा सार्वजनिक गरिनेछ। लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूलाई आगामी चरणको छनोट प्रक्रियाका लागि बोलाइने उहाँले बताउनुभयो।

निर्वाचन अवधिमा मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थल तथा संवेदनशील क्षेत्रहरूको सुरक्षा जिम्मेवारी निर्वाचन प्रहरीले निर्वाह गर्ने भएकाले आवश्यकताभन्दा बढी उम्मेदवारलाई प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियामार्फत छनोट गरिएको प्रहरीले जनाएको छ। निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले प्रहरी प्रशासनले निष्पक्ष र पारदर्शी ढंगले छनोट प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

Leave a review

This will close in 0 seconds