वीरगञ्ज : पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपरिणामले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व देखाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपा समानुपातिकतर्फ पहिलो स्थानमा रहेको छ।
यसअघि सम्पन्न प्रत्यक्षतर्फको निर्वाचनमा पनि रास्वपाले चारै क्षेत्रमा जीत हासिल गरेको थियो । पर्सा क्षेत्र नम्बर १ बाट हरि पन्त, क्षेत्र नम्बर २ बाट सुशील कुमार कानु, क्षेत्र नम्बर ३ बाट रमाकान्त प्रसाद चौरसिया र क्षेत्र नम्बर ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका थिए।
यसैगरी समानुपातिकतर्फ पर्सामा रास्वपा नै अगाडी देखिएको छ । पर्सा–१ मा रास्वपाले ३४ हजार ४६३ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएको छ। यस क्षेत्रमा नेकपा (एमाले) ९ हजार २३१ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेस ८ हजार २३७ मतसहित तेस्रो स्थानमा छ। राप्रपाले ३ हजार २४० र जसपा नेपालले १ हजार ९९ मत प्राप्त गरेका छन्।
यस्तै पर्सा–२ मा पनि रास्वपा ३४ हजार ९१८ मतसहित पहिलो बनेको छ। नेपाली कांग्रेस १० हजार ३४० मतसहित दोस्रो र नेकपा (एमाले) ८ हजार ५८५ मतसहित तेस्रो स्थानमा रहेको छ। राप्रपाले ३ हजार ५०६ तथा जसपा नेपालले २ हजार ४५० मत प्राप्त गरेका छन्।
यसैगरी पर्सा–३ मा रास्वपाले २४ हजार १५८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ। नेपाली कांग्रेस ८ हजार ६५० मतसहित दोस्रो, नेकपा (एमाले) ६ हजार १६८ मतसहित तेस्रो र नेकपा १ हजार १९५ मतसहित चौथो स्थानमा रहेका छन्।

