कलैया । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध जस्तो देखिने एमलेब्रोट क्याप्सुल सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नं.८ बस्ने १९ वर्षीय विश्वास परियार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले परियारसंग ४७५ पिस क्याप्सुल बरामद भएको छ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं.१ चौताराचोक स्थितमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको नियमित चेकिङ टोलीले उनलाई पक्राउ गरिएको हो। ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको सार्बजनिक बसलाई रोकी जाँच गर्ने क्रममा परियार पक्राउ परेका हुन्।
उक्त बसमा सवार परियारले लगाएको पाइन्टको दाहिने खल्तीमा लुकाइ छिपाइ राखिएको कालो प्लाष्टिक भित्र निलो रंगको लागु औषध जस्तो देखिने क्याप्सुल २२५ पिस र वाँया खल्तीमा २५० पिस गरी जम्मा ४७५ पिस क्याप्सुल फेला परेको हो।
बरामद लागु औषध सहित उनलाई नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

