कलैया । पर्सा प्रहरीले विशेष चाडपर्व सुरक्षा योजना लागु गरेको छ। नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, सुरक्षित, शान्तिपूर्ण, सौहार्दपूर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको हो।
चाडपर्वको समयमा हुनेअत्यधिक मानिसहरुको आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा हुने भीडभाड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधि, किनमेल तथा आर्थिक कारोबारमा हुने वृद्धिलगायतका अवस्थालाई दृष्टिगत गर्दै यो योजना लागु गरेको हो। जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी एवं जनमैत्री बनाउन विभिन्न स्थानमा प्रहरी जनशक्ति परिचालन गरी विशेष निगरानी, गस्ती तथा चेकजाँचको व्यवस्था मिलाइएको छ।
अतः चाडपर्वको समयमा विभिन्न अपराधिक घटना घटने, शान्ति सुरक्षामा खलल् पार्ने, मादक पदार्थ/ मनोद्दिपक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने/ खेलाउने, आतसवाजी गर्ने, ठगी गर्ने, मादक पदार्थ सेवन गर्ने जस्ता क्रियाकलाप भई जनधनको क्षति हुन सक्ने संभावना भएकोले सम्पूर्ण सर्व साधारणहरूमा सुरक्षित तवरले चाडपर्व मनाउन अपिल पर्सा प्रहरीले गरेको हो।
अपराधिक गतिविधि तथा सो गतिविधिमा संलग्न व्यक्तिहरूका बारेमा समयमै नजिकको प्रहरी कार्यालयमा खबर गरी सुरक्षित समाज निर्माण गर्ने साझा जिम्मेवारी र नागरिक दायित्व निर्वाह गर्न पर्सा प्रहरीले अपिल गरेको छ।


