रास्वपा कलैया अधिवेशनपछि भएको उपनिर्वाचन खारेज गर्न कार्यकर्ताको माग

साझेदारी डेलि
122 पाठक संख्या

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताहरूले कलैया उपमहानगरपालिका समितिको अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्। उनीहरूले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता नदिई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन्।

कार्यकर्ताहरूका अनुसार २०८३ जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मतसहित सभापति पदमा विजयी भएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएपछि उनको शपथग्रहणसमेत सम्पन्न गरिएको थियो। तर दुई दिनपछि ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना जारी गरिएको धिराज पटेलले बताए।

पटेलका अनुसार उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा जिम्मेवार पदाधिकारीको नामबिनै सार्वजनिक गरिएको थियो। उनले ‘५० प्रतिशतभन्दा बढी मत प्राप्त नभएको’ आधारमा उपनिर्वाचन गराइएको दाबी गरिएको भए पनि निर्वाचनकै दिन यस्तो विषय किन नउठाइएको भन्दै प्रश्न गरेका छन्।

उनले निर्वाचन प्रतिनिधि तथा पार्टी नेतृत्वले विधानको सही व्याख्या नगरी विजयी घोषणा, माला तथा अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको बताए। साथै, उपनिर्वाचन सीमित प्रतिनिधिहरूबीच मात्र गराइएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाए।

कार्यकर्ताहरूले उपनिर्वाचनको आधार सार्वजनिक गर्न, प्रक्रिया पारदर्शी बनाउन तथा निष्पक्ष ढंगले पुनः प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वसँग माग गरेका छन्। परिवर्तनको आशासहित पार्टीमा आबद्ध भएका समर्थकहरू पछिल्लो घटनाक्रमबाट निराश बनेको उनीहरूको भनाइ छ।

Leave a review

This will close in 0 seconds