जीतपुर । मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित चारदिने ‘मधेस ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा तथा नाटाको समन्वयमा सञ्चालित कार्यक्रममा नेपाल र भारतका दुई सयभन्दा बढी पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा कन्टेन्ट क्रियटर सहभागी भएका थिए।
मार्टका क्रममा गढीमाई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्ज, सिद्धबाबा क्षेत्र तथा जनकपुरधामलगायतका पर्यटकीय गन्तव्यको अवलोकन गराइएको थियो। भारतीय पर्यटन व्यवसायीहरूले मधेसलाई धार्मिक र प्राकृतिक पर्यटनका लागि सम्भावनायुक्त क्षेत्रको रूपमा चित्रण गर्दै सीमावर्ती नाकामा पर्यटकमैत्री वातावरण र सहज आवागमनको आवश्यकता औंल्याएका छन्।
आयोजकका अनुसार कार्यक्रमले मधेसका पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्न तथा प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागी टोलीलाई आइतबार जनकपुरधामबाट बिदाइ गरिएको थियो।
चार दिनसम्म सञ्चालन भएको मार्टमा मधेस प्रदेशका आठवटै जिल्लाका प्रमुख धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति, परम्परागत परिकार र सम्पदाको व्यापक प्रचारप्रसार गरिएको नाटाका मद्येस प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले बताएका छन ।
शुक्रबार वीरगञ्जस्थित होटल सरोवरमा औपचारिक उद्घाटन गरिएको कार्यक्रममा सहभागीहरूलाई प्रारम्भमा गढीमाई मन्दिर को दर्शन गराइएको थियो। त्यसपछि टोली सिमरास्थित होटल क्लासिक प्लाजामा आयोजित पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएको थियो। भ्रमणको दोस्रो दिन सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट र पर्सा राष्ट्रिय निकुञ्ज मा जंगल सफारी गराइएको थियो। त्यसपछि टोली बर्दिबास हुँदै जनकपुरधाम पुगेको थियो।


